नेपाली भलिबलको उज्ज्वल भविष्य: विदेशी खेलाडी र दर्शकको क्रेजले थप्यो उत्साह

  • Image प्रदीप लेखी
  • २७ भदौ २०८३, शनिवार
  • 763 पटक हेरिएको
नेपाली भलिबलको उज्ज्वल भविष्य: विदेशी खेलाडी र दर्शकको क्रेजले थप्यो उत्साह

काठमाडौं । नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले काठमाडौंमा जारी पुरुषतर्फको पहिलो फ्रेन्चाइज एनभिएल (नेपाल भलिबल लिग) ले नेपाली भलिबललाई व्यवसायिक दिशामा अगाडि बढाएको बताएका छन् ।

क्रिकेट र फुटबलपछि महिला भलिबलमा फ्रेन्चाइज लिग सफल भइसकेको अवस्थामा पुरुषतर्फको यो पहिलो आयोजनाले नेपाली खेलकुदमा नयाँ आशा र उत्साह थपेको उनको भनाइ छ । संघले दुई-तीन वर्ष अघिदेखि नै भलिबललाई व्यवसायिक रूप दिने परिकल्पना गरेको र अहिले केडिया ग्रुपको पहलमा त्यो सपना साकार भएको उनले बताए ।

उपाध्यक्ष शाहका अनुसार लिगमा ९ वटा देशका अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिताले प्रतियोगिताको रौनकता र प्रतिस्पर्धात्मकता बढाएको छ । स्वदेशी ग्राउन्डमै विदेशी खेलाडीहरूसँग खेल्न र सिक्न पाउँदा नेपाली युवा खेलाडीहरूले राम्रो 'म्याच एक्सपोजर' पाइरहेका छन् । दर्शकहरूको उल्लेख्य उपस्थिति र त्रिपुरेश्वरस्थित कभर्डहलमा टिकट नपाएर फर्किनुपर्ने अवस्थाले नेपाली भलिबलको भविष्य उज्ज्वल रहेको संकेत गरेको उनले उल्लेख गरे ।

नेपाली खेलाडीहरू वैदेशिक रोजगारीका लागि पलायन भइरहेको वर्तमान चुनौतीबारे बोल्दै उपाध्यक्ष शाहले यो समस्या खेलकुद क्षेत्रको मात्र नभई समग्र देशकै भएको स्पष्ट पारे । खेलाडी र प्रशिक्षकहरूले नेपालमै खेलेर आफ्नो जीविकोपार्जन गर्न सक्ने आर्थिक वातावरण निर्माण गर्न एनभिएलजस्ता व्यवसायिक लिगहरूले ठूलो राहत पुर्‍याउने उनको विश्वास छ । तर, यसलाई दीर्घकालीन रूपमा रोक्न सरकारले नै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ठोस नीति र योजना ल्याउनुपर्नेमा उनले जोड दिए ।

त्रिपुरेश्वर कभर्डहलको दर्शक क्षमता निकै कम भएका कारण सयौं दर्शकहरू मन खिन्न बनाएर फर्किनुपरेकोप्रति दुःख व्यक्त गर्दै उनले भलिबलका लागि छुट्टै ठूलो कभर्डहलको आवश्यकता औंल्याए । नेपाल सरकारले काठमाडौं उपत्यकाभित्र ५ देखि १० हजार क्षमताको कभर्डहल निर्माणका लागि जग्गा मात्र उपलब्ध गराइदिएमा संघ, आम खेलप्रेमी र विदेशमा रहेका नेपाली दाजुभाइहरूसँग हातेमालो गरेर कभर्डहल बनाउन तयार रहेको उनले बताए ।

नेपालको राष्ट्रिय खेल भलिबल देशका सबै ७७ वटै जिल्लामा खेलिने र स्थानीय तहसम्म क्रेज भएको खेल भएकाले नयाँ सरकारले यसको विकासका लागि सकारात्मक कदम चाल्नेमा उनी आशावादी छन् । बिनाकुनै अन्तर्राष्ट्रिय सहयोग, केवल आन्तरिक स्रोत र सहकार्यका आधारमा भलिबल आजको स्थितिसम्म आइपुगेको भन्दै उपाध्यक्ष शाहले सरकारले राष्ट्रिय खेललाई साच्चै नै उच्च प्राथमिकतामा राखेर पूर्वाधार विकास र प्रोत्साहनमा ध्यान दिनुपर्ने माग गरे ।