काठमाडौं : ललितपुर महानगरपालिका वडा २१ को आयोजनामा आठौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुसमा हुने भएको छ ।
प्रतियोगितामा १७ स्पर्धामा प्रतिस्पर्धा हुने प्राविधिक प्रमुख निकेशप्रसाद जोशीले जनाएका छन् । आयोजकका अुनसार करिब ५ सय खेलाडीको सहभागिता रहने छ । १७ वटै स्पर्धामा नगद पुरस्कार राखिएको छ । ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ । पुस ५ गतेदेखि सुरु हुने साताव्यापी प्रतियोगिताका खेलहरु ललितपुरको खोकनामा हुनेछ ।
आयोजक वडा २१ का अध्यक्ष रविन्द्र महर्जनले ऐतिहासिक तथा सांस्कृतिक नगरी खोकनामा प्रतियोगिता आयोजना गर्नुको उद्देश्य खेलकुदको विकाससंगै खोकनाको मौलिक कला, संस्कृति, परम्परा, ऐतिहासिक पहिचान तथा स्थानिय सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु रहेको बताए ।
उनले प्रतियोगताबाट नयाँ प्रतिभाको पहिचान गर्न मद्दत पुग्नुका साथै स्थानिय तहबाटै टेबलटेनिसको विकासमा समेत टेवा पुग्ने बताए । रात्रीकालीन टेबलटेनिस प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।