एवाइएम खेल महोत्सव : टिप टप राइडर्स र द टर्फ वारियर्स ‘ए’ को दोहोरो जित

  • Image नेप्लेज
  • २६ भदौ २०८३, शुक्रवार
  • 752 पटक हेरिएको
एवाइएम खेल महोत्सव : टिप टप राइडर्स र द टर्फ वारियर्स ‘ए’ को दोहोरो जित

काठमाडौँ ।  एवाइएम खेल महोत्सव ३.० अन्तर्गत धन्वन्तरी इन्डोर ग्राउन्डमा सम्पन्न १० ओभरका लिग खेलहरूमा टिप टप राइडर्स र द टर्फ वारियर्स ‘ए’ ले आ-आफ्नो दबदबा कायम राख्दै दोहोरो जित दर्ता गरेका छन्। टिप टप राइडर्सले पहिलो खेलमा एल्फु च्यार्जर्सलाई ५६ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

टस जितेर पहिले फिल्डिङ रोजेको एल्फुविरुद्ध राइडर्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर १२५ रनको मजबुत योगफल खडा गरेको थियो। राइडर्सका लागि आशुतोष घिमिरेले सर्वाधिक ३० रन, कप्तान कृष्ण केडियाले ३० रन तथा शशांकले मात्र ५ बलमा १५ रन जोडे। जवाफमा १२६ रनको लक्ष्य पछ्याएको एल्फु च्यार्जर्स राइडर्सको कसिलो बलिङ र उत्कृष्ट फिल्डिङसामु सम्हालिन नसक्दा ६९ रनमै रोकियो।

आफ्नो दोस्रो खेलमा पनि टिप टप राइडर्सले आक्रामक प्रदर्शन जारी राख्दै अल्फा वारियर्सलाई ३९ रनले हरायो। पहिले ब्याटिङ गर्दै राइडर्सले शशांकको २७ बलमा ५ चौका र ५ छक्कासहितको अविजित ५७ रनको अर्धशतकीय पारी, कप्तान कृष्ण केडियाको ३६ रन र आशुतोष घिमिरेको २२ रनको मद्दतमा ४ विकेट गुमाएर ११८ रन बनाएको थियो। ११९ रनको फराकिलो लक्ष्य पछ्याएको अल्फा वारियर्स निर्धारित १० ओभरमा ७९ रनमै समेटिन पुग्यो।

खेलकुदबाट मारवाडी युवाको पहिचान बदल्दै अग्रवाल युवा मञ्च [भिडिओ कुराकानी] 

यस्तै, प्रतियोगिताका अन्य खेलहरूमा द टर्फ वारियर्स ‘ए’ ले पनि उत्कृष्ट प्रदर्शन गर्दै दुवै खेलमा सफलता हात पार्यो। टर्फ वारियर्स ‘ए’ ले पहिलो खेलमा स्पार्टन्सलाई १६ रनले पराजित गर्‍यो। पहिले ब्याटिङ गर्दै टर्फ वारियर्स ‘ए’ ले Pankaj Rathi को २९ रन र प्रशान्त जैनको २८ रनको मद्दतमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो। ९१ रनको लक्ष्य पछ्याएको स्पार्टन्स टोली ८.५ ओभरमा ७४ रनमै अलआउट भयो। आफ्नो दोस्रो खेलमा टर्फ वारियर्स ‘ए’ ले एमबी थन्डरबोल्ट्सलाई ५५ रनले हरायो। पहिले ब्याटिङ गर्दै संस्कार गोयलको ३४ रन र जानखित जैनको २८ रनको सहयोगमा टर्फ वारियर्स ‘ए’ ले ६ विकेट गुमाएर १२० रन बनाएको थियो। जवाफमा १२१ रनको लक्ष्य पछ्याएको एमबी थन्डरबोल्ट्स ६५ रनमै सीमित भयो।

प्रतियोगिताअन्तर्गत भएका अन्य दुई खेलमा फिनिक्स एक्सआई (काठमाडौँ रोयल्स) र साबित्री काञ्चनजङ्घा काठमाडौँ नाइट्सले सहज जित हात पारे। फिनिक्स एक्सआईले माईटी लायन्सलाई ७ विकेटले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको माईटी लायन्सलाई ५१ रनमै रोकेपछि ५२ रनको लक्ष्य फिनिक्सले ५.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। अर्को खेलमा साबित्री काञ्चनजङ्घा काठमाडौँ नाइट्सले एमबी थन्डरबोल्ट्सलाई ७ विकेटले नै पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको एमबी थन्डरबोल्ट्स ९.५ ओभरमा ७३ रनमा अलआउट भएपछि ७४ रनको लक्ष्य साबित्री काञ्चनजङ्घाले मात्र ४.१ ओभरमा ३ विकेट गुमाएर भेटाउँदै महत्त्वपूर्ण जित निकाल्यो ।