नेपाल भलिबल लिग (एनभीएल) सँगै नेपाली पुरुष भलिबल आधिकारिक रूपमा फ्रेञ्चाइजी युगमा प्रवेश गरेको छ। क्रिकेट, फुटबल र महिला भलिबलमा यसअघि नै सफल मानिएको यो संरचना ढिलो भए पनि पुरुष भलिबलमा सुरु हुनुले नेपाली खेलकुदमा नयाँ आयाम थपेको छ।
नेपाल भलिबल संघ र केडिया ग्रुपबीच २०८१ सालमा भएको सम्झौताको करिब दुई वर्षपछि मैदानमा ओर्लिएको यस लिगले नेपाली भलिबललाई दिगो र व्यावसायिक बनाउने आशा जगाएको छ।
एनभिएलको सबैभन्दा बलियो पक्ष नेपाली खेलाडीले आफ्नै घरेलु कोर्टमा विदेशी खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न पाउनु हो। नौ राष्ट्रका खेलाडीको सहभागिताले लिगको प्रतिस्पर्धात्मक स्तरलाई उच्च बनाएको छ। यसले विशेषगरी युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको खेल शैली, प्रविधि र व्यावसायिकता नजिकबाट अनुभव गर्ने ठूलो अवसर दिएको छ।
नेपाली खेलकुदमा प्रतिभावान् खेलाडीको कमी नभए पनि खेलेरै जीवन धान्न कठिन हुँदा वैदेशिक रोजगारी वा अन्य क्षेत्रमा पलायन हुनुपर्ने बाध्यता रहँदै आएको छ। एनभिएलले खेलाडीका लागि आर्थिक राहत प्रदान गर्दै नेपालमै बसेर भलिबललाई करियरका रूपमा अघि बढाउने आधार तयार पारेको छ। साथै, यसमा निजी क्षेत्रको प्रत्यक्ष लगानीले खेलकुदको विकासमा निजी क्षेत्रको भूमिकालाई अझ बलियो बनाएको छ।
लिगले नयाँ उत्साह थपे पनि पूर्वाधारको सीमितता भने स्पष्ट देखिएको छ। त्रिपुरेश्वरस्थित कभर्डहलको कम दर्शक क्षमताका कारण टिकट नपाएर सयौँ दर्शक फर्किनुपरेको गुनासो छ, जसले सुविधा सम्पन्न खेल पूर्वाधारको आवश्यकतालाई पुनः उजागर गरेको छ।
अर्कोतर्फ, एनभिएलले सामाजिक उत्तरदायित्वको राम्रो उदाहरण पनि प्रस्तुत गरेको छ। देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला रसुवा बाढीपीडितका लागि प्रतियोगिताको पहिलो दिनको टिकट बिक्रीबाट सङ्कलित सम्पूर्ण रकम राहत कोषमा हस्तान्तरण गर्ने आयोजकको निर्णय प्रशंसायोग्य छ।
पारिश्रमिक, प्रशिक्षण, पूर्वाधार र अन्तर्राष्ट्रिय एक्सपोजरका हिसाबले एनभिएलले सकारात्मक सुरुआत गरेको छ। तर यसको वास्तविक सफलता तब मात्र सम्भव छ, जब यसलाई केवल क्षणिक प्रतियोगितामा सीमित नराखी दीर्घकालीन र दिगो व्यावसायिक परियोजनाका रूपमा अगाडि बढाइनेछ।