१५ वर्षीय वैभव सूर्यवंशीले रचे इतिहास: आईपीएल २०२६ मा ओरेन्ज क्याप जित्ने सबैभन्दा कान्छा खेलाडी

  • Image एजेन्सी
  • १७ जेठ २०८३, आइतवार
  • 3727 पटक हेरिएको
१५ वर्षीय वैभव सूर्यवंशीले रचे इतिहास: आईपीएल २०२६ मा ओरेन्ज क्याप जित्ने सबैभन्दा कान्छा खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को यस सिजनमा सबैभन्दा बढी चर्चा राजस्थान रोयल्सका १५ वर्षीय युवा ओपनिङ ब्याटर वैभव सूर्यवंशीको रह्यो। वैभवले १५ वर्षकै कलिलो उमेरमा आफ्नो विष्फोटक ब्याटिङले विश्वभरका दिग्गज खेलाडीहरूलाई प्रभावित मात्र गरेनन्, बरु उनलाई भारतीय राष्ट्रिय टोलीमा डेब्यु गराउनुपर्ने बहस समेत छेडिदिएका छन्। वैभवको टोली राजस्थान रोयल्सको यात्रा क्वालिफायर-२ मा पराजित भएसँगै समाप्त भएको भए पनि उनी यस सिजनमा सर्वाधिक रन बनाउने ब्याटर बन्दै ओरेन्ज क्याप जित्न सफल भएका छन्।

यस सिजनमा ओरेन्ज क्यापका लागि तीव्र प्रतिस्पर्धा देखिएको थियो, जहाँ इतिहासमै पहिलो पटक तीन जना ब्याटरहरूले ७०० भन्दा बढी रन बनाए। मुख्य रूपमा राजस्थानका वैभव सूर्यवंशी, गुजरात टाइटन्सका कप्तान शुभमन गिल र साई सुदर्शनबीच यसको लागि कडा टक्कर थियो। फाइनल खेलअघि गिल र सुदर्शन उपाधि दौडमा निकै नजिक थिए, तर फाइनल खेलमा दुवै ब्याटर सस्तैमा आउट भएपछि वैभवको स्थान सुरक्षित रह्यो। गिल फाइनलमा मात्र १० रनमा आउट भए भने सुदर्शनले १२ रन मात्र जोड्न सके। वैभवले यस सिजनका १६ खेलमा २३७.३० को अविश्वसनीय स्ट्राइक रेटमा १ शतक र ५ अर्धशतकको मद्दतले कूल ७७६ रन बनाए। दोस्रो स्थानमा रहेका शुभमन गिलले १६ खेलमा ७३२ रन र तेस्रो स्थानमा रहेका साई सुदर्शनले १७ खेलमा ७२२ रन बनाए।

सन् २००८ देखि सुरु भएको आईपीएल इतिहासमा ओरेन्ज क्यापलाई ब्याटरको निरन्तरता र दबदबाको प्रतीक मानिन्छ। अहिलेसम्मका १९ वटा सिजनमा वैभवसहित १५ जना फरक-फरक खेलाडीहरूले यो प्रतिष्ठित क्याप जितिसकेका छन्, जसले यस प्रतियोगिताको कडा प्रतिस्पर्धालाई दर्शाउँछ। आईपीएल इतिहासमा सबैभन्दा बढी ओरेन्ज क्याप जित्ने कीर्तिमान अस्ट्रेलियाका डेभिड वार्नरको नाममा छ, जसले तीन पटक (२०१५, २०१७, २०१९) यो उपाधि जितेका छन्। त्यस्तै, क्रिस गेल र विराट कोहलीले समान दुई-दुई पटक ओरेन्ज क्याप आफ्नो नाम गरेका छन्। विराट कोहलीले सन् २०१६ को सिजनमा बनाएको ९७३ रनलाई आज पनि आईपीएल इतिहासकै सर्वश्रेष्ठ ब्याटिङ प्रदर्शन मानिन्छ।

पछिल्ला केही सिजनहरूमा आईपीएलमा युवा खेलाडीहरूको स्पष्ट दबदबा देखिएको छ। सन् २०२१ मा ऋतुराज गायकवाड, २०२३ मा शुभमन गिल र २०२५ मा साई सुदर्शन जस्ता युवा स्टारहरूले ओरेन्ज क्याप जितेर सनसनी मच्चाएका थिए। बीचमा सन् २०२४ मा भने अनुभवी विराट कोहलीले ७४१ रन बनाउँदै आफ्नो क्लास देखाएका थिए। यसै सिलसिलालाई निरन्तरता दिँदै सन् २०२६ मा १५ वर्षीय वैभव सूर्यवंशीले ७७६ रन बनाउँदै ओरेन्ज क्याप विजेताहरूको सूचीमा नाम लेखाउन सफल भए । 

सम्बन्धित खबर