राजवंशी र तामाङसहित चार खेलाडी सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०७
  • |
  • 880 पटक हेरिएको

बग्लुङ । कोशी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङको बसपार्कमा शुक्रबारदेखि शुरू भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ ५०–५७ केजी तौल समूहमा कोशीकी कुसुम राजवंशी र सविना तामाङ तथा विभागीय टोली त्रिभुवन आर्मीकी निकिता धामी र सविना सुनार सेमिफाइनलमा प्रवेश गरेका हुन्।

पहिलो खेलमा कोशीकी कुसुमले विभागीय टोली नेपाल पुलिस क्लबकी सुस्मिता थापालाई पराजित गरिन्। अर्को खेलमा आर्मीकी निकिताले गण्डकीकी रिया श्रेष्ठलाई पराजित गरिन्। दिनको तेस्रो खेलमा कोशीकी सविनाले लुम्बिनीकी बसन्तीकुमारी विकलाई पराजित गरिन्।

चौथो तथा अन्तिम खेलमा आर्मीकी सविनाले बागमती प्रदेशकी रजनी रेग्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिन्। 

प्रोफेसनल फाइटमा महिलातर्फ ५०–५७ केजी तौलसमूह र पुरुषमा ५५–६२ केजी तौल समूहका खेलाडीले चुनौती दिन पाउनेछन्। यस प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेश र एक आयोजक गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने संघका अध्यक्ष प्रतीक घर्तीमगरले जानकारी दिए। प्रतियोगितामा कुल ४४ खेलाडीले दुई स्वर्ण पदक, ट्रफी र नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने छन्। महिला र पुरुष दुवैतर्फ च्याम्पियनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन्। 

उक्त प्रतियोगिताको संघीय सांसद तथा पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका थिए। सो अवसरमा पौडेलले खेल क्षेत्रको विकास भएमा मात्र राष्ट्रको विकास हुने बताउँदै तीन वटै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए। 

‘म विदेशका धेरै ठाउँमा जाँदासमेत खेल क्षेत्रबाट धेरै प्रगति भइसकेको देखेको छु। नेपालमा पनि खेलकुदको सम्भावना प्रचुर रहेका छ। त्यसको व्यवस्थापनका निम्ति राज्यकै तीन वटै तहले कार्यक्रम अगाडि ल्याउनु पर्छ। म त्यसका निम्ति पहल गर्ने छु,’ उनले भने। 

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धनबहादुर कायतले ढोरपाटन क्षेत्र खेलकुद क्षेत्रमा अगाडि रहेको बताए। खेलकुद स्वास्थ्य र राष्ट्रका लागि महत्त्वपूर्ण गहना भएका कारण नगरपालिकाले यस क्षेत्रमा पर्याप्त लगानी गरिरहेको उनले जानकारी दिए। ढोरपाटले मात्रै नभई खेलकुदमा तीन वटै तहले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

‘खेलकुद क्षेत्रलाई राज्यले अवहेलना गरेका कारण खेलाडीमा लुकेर रहेको प्रतिभा प्रस्फुटनमा अवरोध भइरहेको छ। तीन वटै तहका सरकारले यसलाई प्राथमिकता दिनुपर्छ, ’ उनले भने। कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, महासंघ केन्द्रीय उपाध्यक्ष तथा रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठलगायत केन्द्रीय र प्रदेश समितिका पदाधिकारीको उपस्थिति थियो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey