नेपालविरुद्धको सिरिज वेस्ट इन्डिज ए लाई

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२०
  • |
  • 754 पटक हेरिएको

नेपालविरुद्धको मैत्रीपूर्ण टी–२० सिरिज वेस्टइन्डिज ए ले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा २८ रनको जित निकाल्दै वेस्टइन्डिज ए ले एक खेल अगावै सिरिज आफ्नो पोल्टामा पारेको हो । पाँच खेलको सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले जित निकाले पनि त्यसपछि लगातार तीन खेल जित्दै वेस्टइन्डिजले एक खेल अगाडि नै सिरिज आफ्नो पक्षमा पार्न सफल भयो ।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज ए ले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । जवाफमा नेपालको टोली १८१ रनमा अलआउट भयो ।

वेस्टइन्डिजको पारिमा आन्द्रे फ्लेचरले नटआउट ८४ रनको शानदार प्रदर्शन गरे । उनले ५४ बलमा चार छक्का र नौ चौका प्रहार गरेका थिए । यसैगरी जोन्सन चार्लेजले ५८ रन बनाए । उनले ३० बल फेस गर्दा ६ छक्का र तीन चौका प्रहार गरेका थिए । त्यसैगरी १९ बलमा तीन छक्का र दुई चौकाको मद्दतले ३३ रनको नटआउट पारि फाबियन एलेनले खेलेपछि वेस्टइन्डिज ए ले फराकिलो स्कोर खडा गरेको थियो । नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीको नाममा एक विकेट रह्यो ।  

२१० रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेपालका लागि कप्तान रोहित पौडेलले आज पनि कप्तानी पारि खेले पनि जित भने टाढा रह्यो । रोहितले ४७ बलमा ५ छक्का र ७ चौकाको मद्दतले ८२ रन जोड्दा सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुलसन झाले समान १९–१९ रन जोडेका थिए ।

सोमपाल कामीले १० रन जोडे । ओपनर आशिफ शेख शुन्यमै आउट हुँदा कुशल भुर्तेलको ब्याबाट एक रन बन्यो । कुशल मल्ल चार रन बनाएर पभेलियन फर्किए । प्रतिश जिसी र ललित नारायण राजवंशीले पनि खाता खोल्न नसक्दा अभिनाश बोहोरा १७ रनमा नटआउट रहे । उनले एक छक्का र दुई चौका प्रहार गरे । वेस्टइन्डिज एका लागि म्याथ्यु फोड र हेडेन वाल्सले तीन तीन विकेट लिँदा फावियन एलेन र गुडकेस मोटेले दुई दुई विकेट हात पारे ।  सिरिजको अन्तिम खेल आगामी शनिबार खेलिदै छ । यो सिरिज पछि नेपाली टोली टी २० विश्वकपको अभ्यासका लागि वेस्टइन्डिज जाने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey