सरकारको सहयोग छ, फुटबलले छिटै निकास पाउँछ : एन्फा महासचिव राई

  • Image नेप्लेज
  • ८ मंसिर २०८३, मङ्गलवार
  • 80 पटक हेरिएको
सरकारको सहयोग छ, फुटबलले छिटै निकास पाउँछ : एन्फा महासचिव राई

काठमाडौं, मंसिर ८- अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले नेपाली फुटबलले छिट्टै निकास पाउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथि लगाएका सबै प्रकारका प्रतिबन्ध हटाएपछि नेपाली फुटबलको समस्या समाधान हुने दिशामा सकारात्मक वातावरण बनेको उनको भनाइ छ । राखेपको प्रतिबन्ध हटेसँगै एन्फाको कार्यालय बुधबारदेखि नियमित सञ्चालनमा आएको छ। यसले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले एन्फामाथि लगाएको निलम्बनसमेत छिट्टै हट्ने विश्वास जगाएको महासचिव राईले आशा व्यक्त गरे । 

‘राखेपले एन्फामाथिको सबै प्रकारको प्रतिबन्ध हटाएपछि संघको कार्यालय सञ्चालनमा आएको छ। अब फिफाको निलम्बन पनि छिट्टै खुल्ने विश्वास लिएका छौं,’ राईले भने । उनले नेपाली फुटबलको निकासका लागि फिफा र एसियाली फुटबल महासंघ (एएफसी) को निर्देशन महत्वपूर्ण हुने बताए । उनका अनुसार संघको निर्वाचनलगायत नेपाली फुटबलका सम्पूर्ण समस्या समाधानका विषयमा फिफा र एएफसीले रोडम्याप दिनेछन् ।

‘संघको निर्वाचनका सम्बन्धमा हामी फिफा र एएफसीको लिखित निर्देशन पर्खिरहेका छौं । नेपाली फुटबलको निकासका लागि हामी सबै विकल्पमा लचिलो छौं। फिफा र एएफसीको रोडम्यापअनुसार नेपाली फुटबलले निकास पाउने विश्वास छ,’ उनले भने । 

महासचिव राईले नेपाली फुटबलको समस्या समाधानका लागि थाइल्यान्डमा फिफा र एएफसीसँग सकारात्मक छलफल गर्ने सरकारी प्रतिनिधिमण्डलको पहलको प्रशंसासमेत गरे। शिक्षा, युवा तथा खेलकुदमन्त्री, मन्त्रीका प्रमुख सल्लाहकार तथा राखेप उपाध्यक्षको प्रतिनिधिमण्डलले गरेको पहल नेपाली फुटबललाई निकास दिने दिशामा महत्वपूर्ण कदम भएको उनले बताए।

‘नेपाली फुटबललाई निकास दिन सकारात्मक छलफल र महत्वपूर्ण पहल गर्नुभएकोमा माननीय मन्त्रीज्यू, प्रमुख सल्लाहकारज्यू तथा राखेप उपाध्यक्षज्यूको प्रतिनिधिमण्डललाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ राईले भने । राखेपको प्रतिबन्ध हटेसँगै एन्फाको कार्यालय सञ्चालनमा आउनु र फिफा तथा एएफसीसँगको संवाद सकारात्मक बन्नुले नेपाली फुटबलमा आशा जगाएको छ। अब अन्तर्राष्ट्रिय निकायको औपचारिक निर्देशनपछि नेपाली फुटबलको अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ।

विश्व फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी) का प्रतिनिधिसँग नेपाल सरकारको थाइल्यान्डमा गत बिहीबार छलफलपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फामाथि सबै निलम्बन फुकुवा गरेको हो । यसअघि नै राखेपले एन्फामाथि निलम्बन फुकुवा गरेको भने पनि दैनिक काममा अवरोध नै थियो । एन्फाको खाता रोक्का र सवारी साधन चलाउन सरकारले रोक लगाएको थियो भने एन्फाका पदाधिकारीलाई फिफा र एएफसीका कार्यक्रममा विदेश जान प्रतिबन्ध थियो । तर थाइल्यान्डमा छलफलपछि राखेपले एकपल्ट फेरि लिखितमा फिफाका प्रतिनिधि समक्ष फुकुवाको पत्र दिएको छ ।

यसअघि फिफाले तेस्रो पक्ष (नेपाल सरकार) को हस्तक्षेपको भएको भन्दै एन्फामाथि निलम्बन गरेको थियो । एन्फाको अर्ली इलेक्सन रोकेपछि निलम्बन भएको थियो । फिफाले नेपालमाथि निलम्बन लगाउनुअघि ११ बुँदे सर्त फुकुवा गर्न आग्रह गरेको थियो । तर सरकारले त्यसको जबाफ नदिएपछि फिफाले निलम्बन गर्यो । तर अहिले त्यही ११ बुँदे सर्तबाट सरकार पछि हटेपछि नेपाली फुटबलले निकासा पाउने आशा पलाएको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment