काठमाडाैं। पाहुना टोली भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबविरुद्ध एपिएफकी रश्मिकुमारी घिसिङले दोहोरो ह्याट्रिक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याएकी छन् ।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी ‘ दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप’मा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले भुटानलाई ७–० गोलअन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित पारेको छ ।
एपिएफले अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई शनिबार राति धरानमा सम्पन्न भएको ‘प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप’ हराउँदै उपाधि जितेको थियो । एपिएफ पहिलो संस्करणको उपविजेता टोली हो । एपिएफले घरेलु टोली झापा ११ सँग बुधबार सेमिफाइनल खेल खेल्ने छ ।
एपिएफकी रश्मिकुमारी घिसिङले खेलको २६ औं मिनेटमा गोल गर्दै अग्रता बनाइन् । ३० औं मिनेटमा रश्मिले नै अग्रता दोब्बर बनाइन् । ४५ औं मिनेटमा मैदानको मध्यभागबाट सिंगल खेल्दै ह्याट्रिक पूरा गरिन् । ५२ औं मिनेटमा पेनाल्टीमार्फत रश्मिले चौथो गोल थपिन् ।
भुटानकी पुनम चेम्जोङले उनलाई डि–एरियामा फाउल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो । ५५ औं मिनेटमा कुसुम खतिवडाको क्रस पासमा हेडमार्फत गोल गर्दै उनले गोल अन्तर फराकिलो पारिन् । ५९ औं मिनेटमा कुसुम खतिवडासँग तालमेल गर्दै बल अगाडि बढाएर रश्मिले आफ्नो दोहोरो ह्याट्रिक पूरा गरिन् ।
६२ औं मिनेटमा अनिता केसीले गोल थप्दै गोलान्तर फरक बनाइन् । खेलको प्लेयर अफ द म्याच एपिएफकी रश्मिकुमारी घिसिङले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । मंगलबारको अन्तिम क्वार्टर फाइनल विभागीय टोली नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।