त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर महिला फुटबल एकेडेमीलाई १०–० गोलले पराजित गर्दै दोस्रो झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शिवसताक्षीस्थित दुधे रङ्गशालामा आइतबार भएको खेलमा आर्मीको जितमा चन्द्रा भण्डारी र हेमा चौधरीले ह्याट्रिक गरे भने सुक्रिया मियाले दुई तथा जेनिफर राना मगर र दीपा शाहीले १–१ गोल गरे ।
खेलको पाँचौँ मिनेटमा चन्द्राले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । उनले १६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । १८औँ मिनेटमा हेमाले गोल गर्दै अग्रता बढाइन् । सुक्रियाले ३३औँ मिनेटमा गोल गरिन् भने चन्द्राले ४३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
४४औँ मिनेटमा हेमाले हेडमार्फत गोल गरिन् । पहिलो हाफको अतिरिक्त समयमा सुक्रियाले व्यक्तिगत दोस्रो गोल गरिन् । दोस्रो हाफको पहिलो मिनेटमै हेमाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । जेनिफरले ७९औँ र दीपाले ८९औँ मिनेटमा गोल थपेपछि आर्मी १०–० को फराकिलो जित निकाल्न सफल भयो ।

प्रतियोगितामा चन्द्रा प्लेयर अफ द म्याच घोषित भइन् । उनले रु १५ हजार पुरस्कार प्राप्त गरिन् । कतारमा रहेका तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी ज्याकी चानले पनि उनलाई प्रोत्साहनस्वरूप थप रु १५ हजार प्रदान गरे ।
यस जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि उद्घाटन खेलमा झापाकी सजिना स्याङताङले ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । प्रतियोगिताअन्तर्गत सोमबार हुने तेस्रो क्वाटरफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र भुटानको थिम्पू राभेन महिला फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।