काठमाडौं । जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ४८ रनले पराजित गरेको छ ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति सम्पन्न भएको समूह ‘बी’को खेलमा पाकिस्तान ‘ए’ले दिएको ३१४ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ४९.१ ओभरमा २६५ रनमा समेटिएको थियो ।
भारतका लागि कप्तान तिलक वर्माले उत्कृष्ट ब्याटिङ गर्दै १४९ बलमा १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले आफ्नो इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, अभिषेक शर्माले ४२ बलमा ७० रन बनाए भने शहबाज अहमदले ५६ रनको योगदान दिए । एक समय कमजोर अवस्थामा पुगेको भारतलाई तिलक र शहबाजले सातौँ विकेटका लागि ११२ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर अन्य ब्याटरले साथ दिन नसक्दा भारत लक्ष्यसम्म पुग्न सकेन । पाकिस्तानका अली रजाले ३ तथा हसन नवाजले ३ विकेट लिए । मोहम्मद इमरान रन्धावाले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३१३ रन बनाएको थियो । पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९ रन बनाए भने माज सदाकतले ५९, फरहान युसुफले ५६ र सामिल हुसेनले ३३ रन बनाए। कप्तान अब्दुल समदले २८ रनको योगदान दिए । भारतका हर्षित राणाले २ तथा प्रिन्स यादवले २ विकेट लिए । सूर्यांश शेड्गे र विप्रज निगमले पनि २–२ विकेट हात पारे ।
यस जितसँगै पाकिस्तान ‘ए’ समूह ‘बी’को शीर्ष स्थानमा पुगेको छ र सेमिफाइनलमा छनौट भएको छ । पाकिस्तान ए ले अब मंगलबार नेपालसँग खेल्ने छ । त्यस्तै भारत ‘ए’ले समूह चरणको आफ्नो अन्तिम खेलमा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नेछ ।