नेपालमा पहिलोपटक यू–२० फोर नेसन कबड्डी कप, उपाधि जित्ने नेपालको लक्ष्य

  • Image नेप्लेज
  • ४ मंसिर २०८३, शुक्रवार
  • 104 पटक हेरिएको
नेपालमा पहिलोपटक यू–२० फोर नेसन कबड्डी कप, उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौं । नेपालमा पहिलोपटक यू–२० फोर नेसन अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डका जुनियर राष्ट्रिय टोली सहभागी हुनेछन् ।

प्रतियोगिता शनिबारदेखि ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो हलमा सुरु हुनेछ । प्रतियोगिताको उद्घाटनअघि दिउँसो १ बजे औपचारिक कार्यक्रम आयोजना गरिनेछ भने खेलहरू दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम रहेको छ । अखिल नेपाल कबड्डी संघका अनुसार प्रतियोगिता आयोजना गर्ने सहमति चार राष्ट्रबीच थाइल्याण्डको क्राबी सहरमा भएको थियो । सुरुमा मलेसियासमेत सहभागी हुने तय भए पनि आन्तरिक कारणले अन्तिम समयमा सहभागी हुन नसकेको संघले जनाएको छ ।

फोर नेसन प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यले प्रत्येक संस्करणमा एक अतिथि राष्ट्रलाई आमन्त्रण गर्ने निर्णयसमेत गरिएको छ । यसपटक भारत सहभागी भएकोमा आगामी संस्करणमा इरान, चाइनिज ताइपेईलगायतका राष्ट्रलाई आमन्त्रण गर्न सकिने संघले जनाएको छ । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि नेपाली टोलीले लामो समयदेखि जनकपुरमा प्रशिक्षण शिविर सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा कबड्डीले नेपाललाई लगातार पदक दिलाउँदै आएको उल्लेख गर्दै संघले जुनियर खेलाडीलाई प्रोत्साहन गर्ने र भविष्यको राष्ट्रिय टोली तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

नेपालले एसियन गेम्समा कबड्डीबाट लगातार पदक हासिल गर्दै आएको छ । बङ्गबन्धु प्रतियोगितामा नेपाली पुरुष टोली दोस्रो भएको थियो भने इरानमा सम्पन्न जुनियर प्रतियोगितामा नेपाली टोलीले १२ राष्ट्रमध्ये तेस्रो स्थान हासिल गरेको संघले जनाएको छ । आगामी एसियन गेम्समा भारत, इरान र चाइनिज ताइपेईजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्दै फाइनल पुग्ने र स्वर्ण पदक जित्ने लक्ष्यसहित जुनियर तहबाटै खेलाडी तयार पार्न थालिएको संघको भनाइ छ ।

यसैबीच, अखिल नेपाल कबड्डी संघले आगामी जनवरीदेखि मार्चसम्म सातौँ महिला एसियन कबड्डी च्याम्पियनसिपसमेत नेपालमै आयोजना गर्ने तयारी गरेको छ । प्रतियोगिता आयोजनाका लागि अन्तर्राष्ट्रिय कबड्डी महासंघसँग आवश्यक प्रक्रिया अघि बढाइएको संघले जनाएको छ । महिला र पुरुष दुवै टोलीको क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पदक सम्भावना बलियो बनाउने लक्ष्य संघले राखेको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment