भुवनेश्वर । मध्य एसियाली भलिबल संघ (काभा) पुरुष भलिबल लिग २०२६ आजदेखि भारतको भुवनेश्वरमा सुरु हुँदैछ ।
प्रतियोगिता यही नोभेम्बर २२ तारिखसम्म सञ्चालन हुनेछ ।
लिगको पहिलो खेलमा इरानको फुलाद सिर्जन इरानियन र भारतको तेलुगु ब्ल्याक हक्सबीच प्रतिस्पर्धा हुनेछ ।
खेल किट विश्वविद्यालय, भुवनेश्वरमा हुनेछ । प्रतियोगितामा काजाकस्तान, इरान र भारतका गरी पाँच टोली सहभागी छन् ।
काजाकस्तानबाट जेतिसु, इरानबाट फुलाद सिर्जन इरानियन तथा भारतबाट बेङ्गलुरु टोरपिडोज, मुम्बई म्याटाडोर्स र तेलुगु ब्ल्याक हक्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका सबै खेल किट विश्वविद्यालयस्थित बिजु पटनायक इन्डोर स्टेडियममा खेलिनेछन् । लिग चरणका खेलपछि सेमिफाइनल र फाइनल खेल हुनेछ । प्रतियोगिताको पहिलो खेल काभा मिडिया युट्युब च्यानलबाट नेपालबाट पनि प्रत्यक्ष हेर्न सकिनेछ ।