काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले टस जितेर पोखरा एभेन्जर्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेपछि पोखराले ब्याटिङ गर्ने भएको हो।
लिग चरणको अन्तिम खेल काठमाडौंका लागि निकै महत्वपूर्ण छ। आजको खेलमा काठमाडौं पराजित भए अंक तालिकाको तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्नुपर्नेछ। त्यसैले आजको खेलमा पोखरालाई हराउदै काठमाडौं पहिलो क्वालिफायर खेल्न चाहन्छ।
काठमाडौंले पोखरालाई पराजित गरे अंक तालिकाको दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्नेछ। काठमाडौंले जिते लुम्बिनी लायन्ससँग पहिलो क्वालिफायर खेल्नेछ। लुम्बिनीले अंक तालिकाको शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान पक्का गरिसकेको छ। काठमाडौंले जित निकाले सुदूरपश्चिम रोयल्स अंक तालिकाको तेस्रो स्थानमा झर्नेछ। र चितवन राइनोजसँग एलिमिनेटर खेल खेल्नेछ।
प्लेअफ दौडबाट बाहिरिसकेको पोखरा भने आजको खेलमा काठमाडौंलाई हराउँदै एनपीएलमा सुखद अन्त्य गर्न चाहन्छ।