खुला पर्वतीय दौडको क्षेत्र विस्तार गर्न सुझाव

  • Image नेप्लेज
  • २१ कार्तिक २०८३, शनिवार
  • 59 पटक हेरिएको
खुला पर्वतीय दौडको क्षेत्र विस्तार गर्न सुझाव

खेल पर्यटन प्रवर्द्धनमा पुम्दीभुम्दी पर्वतीय दौड उद्घोषका साथ सञ्चालित तेस्रो खुला पर्वतीय दौड प्रतियोगिता २०८३ को समीक्षा तथा शुभकामना कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरूले प्रतियोगितालाई खेल पर्यटनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा सहभागी वक्ताले आगामी संस्करणदेखि पर्वतीय दौडको क्षेत्र विस्तारसँगै दूरीसमेत बढाउन सुझाव दिएका छन् । प्रतियोगितालाई थप व्यवस्थित, परिस्कृत र अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन दौडको दूरी बढाउँदै नयाँ पर्यटकीय क्षेत्रलाईसमेत समेट्नुपर्नेमा वक्ताहरूले जोड दिए ।

पोखरा महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष हिमलाल बरालले निर्माणाधिन २७ किलोमिटर फुटट्रयाकलाई उपयोग गर्दै आगामी दिनमा प्रतियोगिता फुटट्रयाकमै सञ्चालन गर्न सकिने बताए । स्थानीयवासीलेसमेत प्रतियोगितालाई आफ्नै कार्यक्रमका रूपमा ग्रहण गरेको उल्लेख गर्दै उनले यसको निरन्तरताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकालले प्रतियोगिताको क्षेत्र विस्तार गर्दै विदेशी धावकको सहभागिता बढाउनुपर्ने बताए । दौड मार्गमा आवश्यक साइनबोर्ड राख्नुपर्ने सुझाव दिँदै उनले आगामी संस्करणलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले ओख्लेडाँडासम्म पुग्ने गरी दौडको दूरी विस्तार गर्न सुझाव दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान बढ्दै गएकोमा खुसी व्यक्त गर्दै थप ब्रान्डिङ र प्रचारप्रसारमा जोड दिएर प्रतिकूल मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता अक्टोबर महिनाको पहिलो सातातिर आयोजना गर्न सुझाव दिए ।

होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धनमा योगदान पु¥याएको बताए । सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले खेल पर्यटनसँगै सामाजिक तथा अन्य पवित्र उद्देश्यसमेत जोडेर प्रतियोगितालाई अघि बढाउनुपर्ने धारणा राखे । प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले धावकका सामान व्यवस्थापनका लागि आगामी संस्करणमा विशेष व्यवस्था गर्नुपर्ने बताए ।

हस्पिटालिटी पार्टनरका रूपमा जोडिएको मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टरका प्रमुख कार्यक्रम सञ्चालन अधिकृत प्रकाश विकले आगामी वर्ष पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । नेलम्बो नेपालका कार्यक्रम अधिकृत भीम भण्डारीले स्थापनाकालदेखि नै मेडिकल पार्टनरका रूपमा सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरे । शुक्रराज माविका प्राचार्य नरनाथ बरालले प्रतियोगिताले पुम्दी-भुम्दी क्षेत्रको खेल पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याएको भन्दै विद्यालयकातर्फबाट आवश्यक सहयोग गर्ने बताए ।

स्वयंसेवक परिचालन संयोजक एवं वडा युवा परिषद् पोखरा-२२ का अध्यक्ष दिनेश बरालले तेस्रो संस्करणमा अघिल्ला दुई संस्करणको तुलनामा उल्लेख्य सुधार भएको बताउँदै आगामी दिनमा स्वयंसेवक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्माले प्रतियोगिताले खेलाडी उत्पादन र खेल पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको बताए । प्रेस स्वतन्त्रताका सेनानी पदम रेग्मीले प्रत्येक वर्ष दौडको मार्ग परिवर्तन गर्दा नयाँ पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने सुझाव दिए । टान गण्डकीका सचिव भूपेन्द्र कुँवर लामाले प्रतियोगितालाई पोखराको ब्रान्डका रूपमा स्थापित गर्न वार्षिक क्यालेन्डरमै मिति तय गर्नुपर्ने बताउँदै टान गण्डकीको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पर्यटन विज्ञ दीपेन्द्र पहारी, पत्रकार विजय नेपालीलगायतले सामान्य त्रुटिलाई निराकरण गरेर अगाडि बढ्न सुझाव दिए । पोखरा प्रवर्द्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले पोखरा क्षेत्रको समग्र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइँदै आएको बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलगायत पोखराका विभिन्न पर्यटन, सञ्चार र खेलसम्बद्ध संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा विभिन्न सहयोगीलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो । विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजना हुँदै आएको तेस्रो पर्वतीय दौड प्रतियोगितामा खुलातर्फ नरेन्द्रसिंह रावत, महिलातर्फ दीर्पा बस्नेत, यू-१६ तर्फ कमल बिक, पोखरा-२२ वडातर्फ क्रिशल परियार, भेट्रान्सतर्फ तेजबहादुर गुरुङ र विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन प्रथम भएका थिए । प्रतियोगिता पोखरा-२२ को पुम्दी-भुम्दी क्षेत्रमा आयोजना गरिएको थियो ।

प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेका थिए । सहयोगी तथा सहकार्य गर्नेमा गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका वडा नं. २२, राष्ट्रिय खेलकुद परिषद्, परिचय एड्भरटाइजिङ, अटो वेज, हिमश्री फुड्स (रारा चाउचाउ), शुभ अधिकारी ट्राभल्स, सिटिजन फर्निचर, चिकेन प्वाइन्ट, वडा युवा परिषद्, विश्वशान्ति स्तूप समिति, पुम्दीकोट कोट विकास समिति र कालाबाङ घरेडी बुद्ध पार्क समिति रहेका छन् । मेडिकल पार्टनर नेलम्बो नेपाल, हस्पिटल पार्टनर मेडिप्लस एण्ड ट्रमा सेन्टर, बीमा पार्टनर युनाइटेड अजोड इन्स्योरेन्स, हस्पिटालिटी पार्टनर म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्सले साथ दिएका थिए ।