चितवनसँग पोखरा ३० रनले पराजित

  • Image नेप्लेज
  • २० कार्तिक २०८३, शुक्रवार
  • 134 पटक हेरिएको
चितवनसँग पोखरा ३० रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटियो।

पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ४४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। युभराज समराले १९, किरण ठगुन्नाले १३ तथा अर्जुन घर्तीले १२ रन बनाए।

पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका रिजन ढकालले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। कमलसिंह ऐरीले ३ विकेट लिए भने डान मौस्ली, कुशल मल्ल र मौसमी ढकालले समान १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो।

चितवनका लागि कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ३७ रन बनाए। उनले २ चौका र ४ छक्का प्रहार गरे। रवि बोपाराले ३५, अर्जुन साउदले ३१ तथा डेभिड मलानले २८ रनको योगदान दिए।

पोखराका विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले समान २ विकेट लिए।

यस जितसँगै चितवनले प्रतियोगितामा महत्त्वपूर्ण २ अंक जोड्दै चार खेलबाट तेस्रो स्थानमा उक्लिएको छ। यता यो हारले पोखराको प्लेअफको सम्भावना कमजोर बनेको छ। जारी प्रतियोगितामा पोखरा ४ खेलमा जितविहिन छ।