भेट्रान्स फुटबलको सेमिफाइनल समिकरण पूरा

  • Image नेप्लेज
  • १८ कार्तिक २०८३, बुधवार
  • 135 पटक हेरिएको
भेट्रान्स फुटबलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार भएका क्वार्टरफाइनल खेलबाट जोरपाटी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सानो गौचरण नाइट किंग्स कलब र पोखरा ११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् ।

मध्यपुर थिमिस्थित मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनलमा जोरपाटीले चाबहिल स्पोर्ट्स क्लबलाई ४–२ ले हरायो । कप्तान तथा मिडफिल्डर रञ्जित लामा खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिए ।

निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि आर्मी र न्युरोड टिम (एनआरटी)बीचको खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । सुटआउटमा आर्मीले ४–२ ले बाजी मार्यो । एउटा पेनाल्टी बचाएका गोलकिपर विकास मल्ल आफैं पनि स्कोरसीटमा आफ्नो नाम लेखाउन सफल भएका थिए । उनकै निर्णायक पेनाल्टीमा आर्मीले बाजी मारेको थियो । पछि उनीनै खेलको सर्वोत्कृष्ट घोषित भए ।

तेस्रो क्वार्टरफाइनलको निर्णय पनि टाइब्रेकरले गरेको थियो । निर्धारित समयमा सानो गौचरणले फ्रिडम एफसीसँग १–१ को बराबरी खेलेका थिए । त्यसपछि सडन डेथसम्म पुगेको टाइब्रेकरमा सानो गौचरणले ५–४ को रोमाञ्चक जित निकाल्यो । दुईवटा पेनाल्टीलाई विफल पारेका गोलकिपर सम्भु श्रेष्ठले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जिते । विकास जस्तै उनले पनि पेनाल्टीलाई सदुपयोग गरेका थिए ।

दिनको अन्तिम खेलमा पोखराले धरान सिटी एफसीलाई १–० ले पराजित गर्यो । यो खेलको ‘प्लेयर अफ दि म्याच’ गोविन्द बहादुर थापा बने ।

सेमिफाइनलका खेल बिहीबार मध्यपुर थिमिस्थित मैदानमै हुनेछन् । पहिलो सेमिफाइनलमा दिउँसो १२ः१५ बजे जोरपाटी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । लगत्तै सानो गौचरण र पोखरा भिड्नेछन् ।

प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।