एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता

  • Image नेप्लेज
  • ५ कार्तिक २०८३, बिहिवार
  • 84 पटक हेरिएको
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता पाएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सम्पूर्ण खेलले आईसीसीको मान्यता प्राप्त गरेको जनाएको हो।

यसअघि आईसीसीले एनपीएलको तेस्रो संस्करणलाई औपचारिक मान्यता दिएको थियो। अब प्रतियोगिताका सबै खेल आधिकारिक टी–२० क्रिकेटको अभिलेखमा समावेश हुनेछन्।

यससँगै प्रतियोगितामा खेलाडीले गर्ने व्यक्तिगत प्रदर्शन र बनाउने कीर्तिमानले समेत आधिकारिक मान्यता पाउनेछन्।

एनपीएलका सबै खेलले आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको व्यावसायिक विकास र अन्तर्राष्ट्रिय पहिचान थप मजबुत हुने क्यानले विश्वास लिएको छ।

एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।