सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा मिसबाह उल हक

  • Image नेप्लेज
  • ३० आश्विन २०८३, शुक्रवार
  • 66 पटक हेरिएको
सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा मिसबाह उल हक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

पहिलो र दोस्रो सिजन टोलीको मुख्य प्रशिक्षक रहेका जगत टमाटाको स्थान मिसबाहले लिनेछन् ।

पाकिस्तानका सफल ब्याटरमध्ये एक मिसबाहले आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनमा तीनवटै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन् ।

उनले पाकिस्तानका लागि ७५ टेस्ट, १६२ एकदिवसीय अन्तर्राष्ट्रिय र ३९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ५ हजार २२२ रन बनाएका छन्। यस क्रममा १० शतक र ३९ अर्धशतक प्रहार गरेका मिसबाहको उच्च स्कोर १६१ रन हो।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ५ हजार १२२ रन बनाएका छन्। उक्त प्रारूपमा उनको उच्च स्कोर ९६ रन हो। टी–२० अन्तर्राष्ट्रियमा भने उनले ७८८ रन बनाएका छन्।

उनको उच्च स्कोर ८७ रन हो। खेलाडीका रूपमा मात्र नभई कप्तानका रूपमा पनि मिसबाहको उपलब्धि उल्लेखनीय छ। उनले पाकिस्तानको टेस्ट टोलीको कप्तानीमा ५६ खेलबाट २६ जित दिलाएका थिए।

उनको नेतृत्वमा पाकिस्तान सन् २०१६ मा पहिलोपटक आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा पुगेको थियो। मिसबाहले सन् २०१५ को एकदिवसीय विश्वकपपछि सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए। सन् २०१७ मा टेस्ट क्रिकेटबाट पनि संन्यास लिएपछि उनले प्रशिक्षकको भूमिका सम्हालेका थिए।

सन् २०१९ देखि २०२१ सम्म उनी पाकिस्तानको राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ता रहेका थिए। मिसबाहले नेपालमा आउन पाउँदा उत्साहित रहेको बताए । 'मैले‌ नेपालका फ्यानहरूको प्यासनका बारेमा सुनेको छु, त्यसमाथि पनिसुदूरपश्चिमको प्रशिक्षकका रूपमा नेपालमा आउन पाउँदा निकै उत्साहित छु । हामी छिट्टै भेट्ने छौं' उनले भनेका छन् ।

एनपीएलको पहिलो र दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले लिग चरणमा शीर्ष स्थान हासिल गर्दै फाइनलसम्मको यात्रा गरेको थियो। तर, उपाधि भिडन्तमा टोली पराजित भएको थियो।


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी