बाढी पीडित पदक विजेता रेजिनलाई एनटीएको सहयोग

  • Image नेप्लेज
  • ३० आश्विन २०८३, शुक्रवार
  • 46 पटक हेरिएको
बाढी पीडित पदक विजेता रेजिनलाई एनटीएको सहयोग

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बाढी पीडित तेक्वान्दोका साग पदक विजेता रेजिन रिमाललाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी पूर्व सदस्य नन्दा बस्याल, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले रेजिनलाई २ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरे ।

कागेश्वरी मनोहरा नगरपालिकाको डाँछीस्थित एनटीएको हलमै आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरिएको हो । एनटीएका अध्यक्ष तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले रेजिनलाई सहयोग गर्न पहल गरेका थिए । अध्यक्ष खड्काले तेक्वान्दोकर्मी, शुभचिन्तकलगायतबाट सहयोग संकलन भएको जानकारी दिए ।

सिन फुले ४० हजार, जेम्सले ७ हजार, सोलेहिन, नन्दा बस्याल, अन्जन कुइकेल र डा. रमेश ढकालले समान १०–१० हजार, अमरचन्द्र बोहराले ५ हजार १ सय, मनोज थापाले २ हजार ५ सय, सहदेव थापाले ३ हजार, कृषन चौधरीले १५ हजार, राजकुमार थापाले २ हजार २ सय २२, सुवासचन्द्र गौतमले ३ हजार १ सय, श्याम थापाले २ हजार तथा प्याट्रिक, पेशल राई, घनश्याम कार्की, मुकुन्द गजुरेल, भीम तुम्बापो, युमा र गंगाराम बस्नेतले समान ५–५ हजार सहयोग उपलब्ध गराएको अध्यक्ष खड्काले बताए ।

संकलित सहयोगमा अपुग रकम अध्यक्ष खड्का र गणेशबहादुर खड्काले थपेर रेजिनलाई २ लाख १ हजार सहयोग प्रदान गरिएको हो । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रेजिनको नुवाकोट जिल्लाको विदूर नगरपालिका ७ स्थित त्रिशूलीमा रहेको नयाँ र पुरानो गरी २ वटा घर बगाएको थिए ।

नयाँ घर बनाउन बैंक र विभिन्न संस्थाबाट करिब ४५ लाख ऋण लिएको रेजिनले बताए । अध्यक्ष खड्का खेल क्षेत्रसंगै सामाजिक सेवामा निरन्तर सक्रिय छन् । २०७२ सालको विनाशकारी भूकम्प, कोभिड महामारी, आर्थिक कारणले समस्यामा परेकालाई विभिन्न समयमा अशोकले सक्दो सहयोग गर्दै आएका छन् ।

अध्यक्ष खड्काले सहयोगी सबैलाई धन्यवाद दिदै मर्कामा परेका खेलाडीलाई आफ्नोतर्फबाट सानो प्रयास भएको बताए ।