लन्डन। बेलायतमा आयोजित चौथो विश्व कराते च्याम्पियनसीप २०२६ मा ज्ञानेन्द्र क्षेत्री र उनका छोरा एड्रियन क्षेत्रीले रजत पदक जितेका छन्।
वर्ल्ड युनियन अफ मार्सल आर्ट्स फेडेरेसनको आयोजनामा गत अक्टोबर ९ देखि ११ सम्म इंग्ल्याण्डको क्रलीस्थित के टु एरेना (K2 Arena) मा भएको प्रतियोगितामा १३ वर्षीय एड्रियन र उनका ५२ वर्षीय पिता ज्ञानेन्द्र क्षेत्रीले रजत पदक प्राप्त गरेका हुन्।
१७२ देशका खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगितामा एड्रियनले अन्डर-१५ क्याटगोरीमा र उनका बुबा ज्ञानेन्द्रले अन्डर-६० क्याटगोरीमा सिल्भर मेडल जितेका छन्। यसबाहेक, फेमिली काता ओपन-वानमा पनि बाबु-छोराले अर्को रजत पदक हात पार्न सफल भए। यसअघि बर्लिनमा हुने भनिएको उक्त प्रतियोगिता यसपटक इंग्ल्याण्डमा सम्पन्न भएको थियो।
लन्डन क्वीन्सबरीस्थित क्यानन हाइस्कुलमा कक्षा ९ मा अध्ययनरत एड्रियनले गत वर्ष अन्डर-१५ क्याटगोरीमा स्वर्ण पदक र बुबा ज्ञानेन्द्रले अन्डर-६० मा रजत पदक जितेका थिए। एड्रियनले यसअघि अन्डर-१० र सन् २०२४ को ईयू च्याम्पियनसीप (अन्डर-१५) मा पनि पदक जितेका थिए। लन्डनको बार्नेटमा जन्मिएका एड्रियन ५ वर्षको उमेरदेखि नै यस खेलमा आबद्ध छन्। 'वान डान' एड्रियन जुनियर इन्स्ट्रक्टरसमेत हुन्।
'ट्रान्सपोर्ट फर लन्डन' मा विगत २४ वर्षदेखि वरिष्ठ इन्जिनियरका रूपमा कार्यरत ज्ञानेन्द्र क्षेत्रीले यसअघि अन्डर-५० मा स्वर्ण पदक जितेका थिए। ब्ल्याक बेल्ट प्राप्त ज्ञानेन्द्र सिनियर इन्स्ट्रक्टर हुन्। प्रशिक्षणबाहेक कराते 'डान' ग्रेडिङ र आधिकारिक प्रमाणपत्र प्रदान गर्ने जिम्मेवारी पनि उनले सम्हाल्दै आएका छन्। छोरालाई कराते सिक्न लैजाने क्रममा आफू पनि यस खेलप्रति प्रेरित भएको उनले बताएका छन्।
इन्जिनियर क्षेत्री गीतकारसमेत हुन्। उनको लेखन तथा गायक-गायिका तिलक बस्नेत र बन्दना पाण्डेको स्वर रहेको 'पैसा पैसा' भन्ने गीत तथा म्युजिक भिडियो निकै लोकप्रिय भएको थियो। यसबाहेक, उनको 'पीर नगर निरमाया' बोलको अर्को गीतको भिडियो पनि युट्युबमा उत्तिकै चर्चित छ।