फिफा विश्वकप २०३० को विशेष प्रसारण अधिकार नेटफ्लिक्सलाई

  • Image नेप्लेज
  • २८ आश्विन २०८३, बुधवार
  • 97 पटक हेरिएको
फिफा विश्वकप २०३० को विशेष प्रसारण अधिकार नेटफ्लिक्सलाई

एजेन्सी । सन् २०३० को फिफा विश्वकपको विशेष प्रसारण अधिकार नेटफ्लिक्स इंकले प्राप्त गरेको छ ।

ओटीटी प्लेटफर्मले मंगलबार यसको घोषणा गरेको हो । फुटबल विश्वकप २०३० ले विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको १००औं वार्षिकोत्सव मनाउने भएकाले साबिक विजेता स्पेनले मोरक्को र पोर्चुगलसँगै यस प्रतियोगिताका तीन आयोजक राष्ट्रहरूमध्ये एकको भूमिका निर्वाह गर्नेछ ।

नेटफ्लिक्सले यस सम्झौताका शर्तहरू खुलाएको छैन जसमा खेलअघि, हाफ–टाइम र खेलपछिका कार्यक्रमहरू, खेल हुने दिनको दैनिक राउन्डअप कार्यक्रम तथा प्रतियोगिताको पूर्वसन्ध्यामा हुने थप कार्यक्रमहरूसहित सबै १०४ वटा खेलहरूको पूर्ण प्रत्यक्ष प्रसारण समावेश छ ।

‘विश्वकपजस्तो मानिसहरूलाई एकताबद्ध गर्ने घटनाहरू निकै कम हुन्छन्,’ नेटफ्लिक्सकी प्रमुख सामग्री अधिकारी (चिफ कन्टेन्ट अफिसर) बेला बजारीयाले भनिन्, ‘स्पेनले सन् २०३० मा आयोजना गर्न लागेकाले नेटफ्लिक्समार्फत स्पेन र एन्डोराभरिका समर्थकहरूमाझ प्रत्येक खेल पुर्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं ।’

सन् २०३० को फिफा विश्वकप सन् २०३० जुन ८ मा सुरु भएर सन् २०३० जुलाई २१ मा सम्पन्न हुने तय भएको छ । नेटफ्लिक्ससँगको पछिल्लो साझेदारीबारे बोल्दै फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले भने, ‘फिफा विश्वकप २०३० तर्फ हेरिरहँदा हामी नेटफ्लिक्ससँगको साझेदारीलाई अगाडि बढाउन पाउँदा खुसी छौं । यो प्रतियोगिताको एक विशेष संस्करण हुनेछ र हामी यसलाई स्पेन र एन्डोराभरिका समर्थकहरूसम्म पुर्‍याउन मिलेर काम गर्न उत्सुक छौं ।’

समर्थकहरूलाई खेलको अझ नजिक ल्याउनु र सकेसम्म धेरै मानिसहरूलाई प्रतियोगिताको उत्साहमा सहभागी हुन सक्षम बनाउनु हाम्रो साझा उद्देश्य हो, ग्राफस्ट्रोमले थपे । मोरक्को, पोर्चुगल र स्पेनलाई फिफा विश्वकप २०३० को आधिकारिक आयोजकका रूपमा चयन गरिएको छ ।

यसैबीच उरुग्वे (सन् १९३० को आयोजक र विजेता), अर्जेन्टिना (सन् १९३० को उपविजेता) र पाराग्वे (सन् १९३० को एकमात्र महादेशीय फुटबल महासंघ कोन्मेबोलको गृहभूमि) ले शताब्दी उत्सवका एक–एक खेल आयोजना गर्नेछन् ।

अमेरिका र क्यानडाका लागि सन् २०२७ र २०३१ को महिला विश्वकपसहित फिफासँगको हाम्रो विस्तारित साझेदारीले समर्थकहरूलाई विश्वका सबैभन्दा ठूला खेल क्षणहरूको नजिक ल्याउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ, बजारीयाले भनिन् ।

नेटफ्लिक्सले अमेरिका र क्यानडामा सन् २०२७ र २०३१ को फिफा महिला विश्वकपको विशेष प्रसारण अधिकार पनि सुरक्षित गरिसकेको छ । प्रत्यक्ष फुटबल प्रसारणमा संयुक्त राज्य अमेरिकामा अंग्रेजी र स्पेनी भाषामा तथा क्यानडामा अंग्रेजी र फ्रेन्च भाषामा प्रसारण समावेश हुनेछ ।

सन् २०२७ को प्रतियोगिता हुनुअघि नेटफ्लिक्सले यसै वर्षको डिसेम्बर ११ मा फिफा महिला विश्वकप २०२७ को फाइनल ड्र प्रसारण गर्नेछ ।