ललितपुर सभापतिमा खेलकर्मी विनोद महर्जनको उम्मेदवारी घोषणा

  • Image नेप्लेज
  • २ कार्तिक २०८३, सोमवार
  • 106 पटक हेरिएको
ललितपुर सभापतिमा खेलकर्मी विनोद महर्जनको उम्मेदवारी घोषणा

ललितपुर। ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्ला अधिवेशनमा जिल्ला सभापतिको पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कराते तथा किकबक्सिङका पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका महर्जनले "बदलियौँ कांग्रेस, बदल्छौँ देश" र "अब पालो युवाको" भन्ने नाराका साथ सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

नेपाली कांग्रेसको कोटाबाट ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका महर्जनको पहिलो कार्यकाल सफल रहेकाले पार्टीले उनलाई दोस्रो कार्यकालका लागि पनि पुन: सिफारिस गरेको थियो। उनको नेतृत्वमा ललितपुरमा खेलकुद सम्बन्धी गतिविधिहरू तीव्र रूपमा सञ्चालन भएका थिए।

उत्कृष्ट कार्यशैलीका कारण महर्जनलाई नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ ले आयोजना गरेको कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले सम्मान गरेका थिए। साथै, प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशले आयोजना गरेको 'स्पोर्ट्स अवार्ड' कार्यक्रममा उनी बागमती प्रदेशकै उत्कृष्ट अध्यक्षका रूपमा पुरस्कृत भइसकेका छन्।

हरेक निकायमा राजनीतिक नियुक्ति हुने भएकाले खेलकुदको समग्र विकासका लागि राजनीतिमा बलियो उपस्थिति आवश्यक रहेको महर्जनको भनाइ छ। उनी २०६० सालअघि देखि नै नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन्। सन्दर्भ अनुसार, २०६२/६३ को १९ दिने जनआन्दोलनमा उनी निरन्तर सहभागी भएका थिए।

आगामी जिल्ला अधिवेशनमा कुनै पनि गुट-उपगुटमा नलागी आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न महर्जनले सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई आह्वान गरेका छन्।