काठमाडौं। भारत र वेस्ट इन्डिजबीचको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल वर्षाका कारण रद्द भएको छ ।
भारतको बेङ्गलुरुस्थित एम चिन्नास्वामी रङ्गशालामा लगातार वर्षा भएपछि पाँच खेलको सिरिजको निर्णायक खेल हुन नसकेको हो । वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
वर्षा रोकिएपछि मैदानको उत्कृष्ट पानी निकास व्यवस्थाका कारण खेल नौ ओभरमा झारेर सुरु गरिएको थियो । तर, ७.४ ओभरको खेलपछि पुनः वर्षा भएपछि खेल अघि बढ्न सकेन । छोटो अवधिको खेलमा भारतले पाँच विकेट गुमाएर ११८ रन बनाएको थियो ।
पाँच ओभरको खेल सम्भव भएको भए वेस्ट इन्डिजले डकवर्थ–लुइस–स्टर्न पद्धतिअनुसार ८४ रनको लक्ष्य पाउने थियो ।
तर, वर्षा नरोकिएपछि खेल रद्द गर्नुपर्यो । यस नतिजासँगै भारतको घरेलु मैदानमा लगातार १२ टी–२० सिरिज जित्ने क्रम टुङ्गिएको छ । भारत र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिज भने भारतले २–१ ले जितेको थियो ।