काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार ओमानमा जारी खेलमा क्यानडाले नेपाललाई जितका लागि दुई सय ५७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङको निर्णय लिएको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ५६ रन बनायो ।
क्यानडाका लागि ओपनर ब्याट्सम्यान युवराज सामराले एक सय पाँच रनको योगदान गरे । उनले एक सय १७ बलको सामना गरी चार छक्का र ११ चौका हिर्काए । अर्का ओपनर आरोन जोन्सनले पनि ३६ रन जोडे ।
ओपनिङ विकेटका लागि सामरा र जोन्सनले ७२ रनको साझेदारी गरे । क्यानडाका लागि चौथो नम्बरका ब्याट्सम्यान हर्ष थाकेरले पनि ३४ रन बनाए । सामरा र थाकेरले पनि ८८ रनको साझेदारी गरे । कप्तान हमजा तारिकले पनि ३० रन जोडे ।
नेपाली टोलीका लागि ललित राजवंशीले चार विकेट लिए । कप्तानसमेत रहेका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले तीन विकेट हात पारे ।
सन्दीपले ४८ औं ओभरमा लगातार दुई बलमा दुई विकेट लिएका थिए । दीपेन्द्रसिंह ऐरीले दुई विकेट कुम्ल्याए । रोहित पौडेलले पनि एक विकेट लिए ।