चौथो मकालु खुल्ला फुटसल गोल्ड कपको उपाधि राष्ट्रिय युवा संघ नेपाललाई

  • Image नेप्लेज
  • १ कार्तिक २०८३, आइतवार
  • 63 पटक हेरिएको
चौथो मकालु खुल्ला फुटसल गोल्ड कपको उपाधि राष्ट्रिय युवा संघ नेपाललाई

खाँदबारी । चौथो मकालु खुल्ला फुटसल गोल्ड कप २०८३ को उपाधि राष्ट्रिय युवा संघ नेपालले जितेको छ।

प्रतियोगितामा खाँदबारी युथ क्लब उपविजेता बनेको छ। मकालु फ्रेन्ड्स क्लबको आयोजनामा खाँदबारीस्थित सूर्य बोर्डिङ स्कुलमा रहेको अनुरोध फुटसलमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको मुख्य प्रायोजक मकालु गाउँपालिका रहेको थियो। प्रतियोगिताको विजेता राष्ट्रिय युवा संघ नेपालले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता खाँदबारी युथ क्लबले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको थियो। स्थानीय स्तरमा फुटसल खेलको विकास, युवाको खेलकुदप्रतिको आकर्षण वृद्धि तथा खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताले युवाबीच आपसी एकता, खेल भावना र स्वस्थ प्रतिस्पर्धाको संस्कृतिलाई प्रोत्साहन गरेको आयोजकले जनाएको छ।

मकालु फ्रेन्ड्स क्लबले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक मकालु गाउँपालिका, सह प्रायोजक, सहभागी टोली, खेलाडी, सहयोगी संस्था तथा सम्पूर्ण खेलप्रेमीलाई धन्यवाद व्यक्त गरेको छ।