काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम त्रिकोणात्मक श्रृंखला खेलिरहेको नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
अल अमिरत क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर घरेलु टोलीलाई बलिङको निम्तो दिएका हुन् ।
नेपालले आइतबार क्यानडालाई २४ रनले हराउँदै यो श्रृंखलामा विजयी सुरुआत गरेको थियो । उक्त खेलमा रोहित पौडेलले १०१ रन बनाउँदै एकिदवसीय अन्तर्राष्ट्रियमा आफ्नो तेस्रो शतक पूरा गरेका थिए ।
क्यानडालाई हराएसँगै ३३ खेलमा २६ अंक जोडेको नेपाल अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ । शीर्ष ६ मा रहँदै एकदिवसीय मान्यता जोगाउने लक्ष्य कायमै राख्न नेपाललाई ओमानविरुद्ध जित अत्यावश्यक छ ।
खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।