कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर, काठमाडौंमा सञ्चालनमा आयो नयाँ सोरुम

  • Image नेप्लेज
  • २६ आश्विन २०८३, सोमवार
  • 61 पटक हेरिएको
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर, काठमाडौंमा सञ्चालनमा आयो नयाँ सोरुम

काठमाडौं । काठमाडौंको बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुमको सञ्चालनमा आएको छ ।

सोमबार बालाजुस्थित ग्यालेक्सी फिटनेस सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिकेटर कुशल भुर्तेलले गरेका हुन् ।

सोही अवसरमा क्रिकेटर भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ । ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौतामा भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीबीच हस्ताक्षर भएको छ ।

सोरुमको उद्‌घाटन गर्दै ब्रान्ड एम्बासडर भुर्तेलले ग्यालेक्सी फिटनेससँग जोडिन पाउनु खुसीको कुरा भएको बताए । ग्यालेक्सी फिटनेससँगको नयाँ सहकार्यले आफूलाई थप हौसला मिलेको पनि भुर्तेलको भनाइ छ । क्रिकेटर मात्रै नभई सबै खेलाडीलाई फिटनेसको महत्व हुने भएकाले सहकार्यबाट उर्जा मिलेको भुर्तेलले बताए । ‘खेलाडीलाई फिटनेस अत्यावश्यक छ । फिट हुन जिम गर्नै पर्छ । त्यसैले ग्यालेक्सी फिटनेस परिवारमा जोडिन पाउँदा खुसी छु,’ भुर्तेलले भने ।

ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीले पनि भुर्तेलजस्ता स्टार क्रिकेटरलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए । ‘भुर्तेलजस्तो क्रिकेटका स्टारलाई हामीले ग्यालेक्सी फिटनेस परिवारमा ब्रान्ड एम्बासडरका रूपमा भित्र्याउन सक्नु हाम्रो ठूलो सफलता हो । यसले हामीलाई पनि खेलकुदसँग जोडिएर काम गर्न थप उत्साह थपेको छ,’ प्रबन्ध निर्देशक अधिकारीले भने । अधिकारीले भुर्तेलसँग ब्रान्ड एम्बासडरका रूपमा अहिले एक वर्षको औपचारिक सम्झौता भएको बताए । अधिकारीका अनुसार, सम्झौता एक वर्षका लागि भए पनि भुर्तेलसँग लामो समय सहकार्य हुनेछ । भुर्तेललाई ब्रान्ड एम्बासडरका रूपमा लामो समय सहकार्य हुने अधिकारीको भनाइ छ । ‘अहिले एक वर्षका लागि औपचारिक रूपमा सम्झौता भए पनि उहाँ र हामी लामो समयका लागि सँगै अघि बढ्न सहमत भएका छौँ,’ अधिकारीले भने । ब्रान्ड एम्बासडर भुर्तेलले पनि आफूहरूबीच लामो समयका लागि सहकार्य गर्ने सहमति भएको बताए । ‘हामी लामो समय सँगै हिँड्नेछौँ । त्यही अनुसार हामीबीच सहमति भएको छ,’ भुर्तेलले भने । ब्रान्ड एम्बासडरमा नियुक्त भएका क्रिकेटर भुर्तेलसँगको सहकार्यले खेलकुद र फिटनेसलाई जोड्न तथा स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

युवा व्यवसायीहरूको सामूहिक पहलमा अघि बढाइएको यस व्यवसायले आधुनिक फिटनेस उपकरणको पहुँच विस्तार गर्नुका साथै नेपालमा फिटनेस संस्कृतिको विकास र जिम व्यवसायको प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । आधुनिक जिम तथा फिटनेस उपकरणको बिक्री तथा वितरण गर्दै आएको ग्यालेक्सी फिटनेसले युवा व्यवसायीहरूको सहकार्यमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।

नेपालमा जिम तथा फिटनेस उपकरणको बढ्दो मागलाई लक्षित गर्दै कम्पनीले आफ्नो सेवा तथा वितरण सञ्जाल विस्तार गरेको प्रबन्ध निर्देशक अधिकारीले बताए । उनका अनुसार, कम्पनीले चीनबाट विभिन्न प्रकारका जिम तथा फिटनेस उपकरण आयात गर्दै आएको छ ।

कम्पनीले जिम, फिटनेस सेन्टर, होटल, रिसोर्ट तथा व्यक्तिगत ग्राहकलाई लक्षित गरी उपकरण बिक्री तथा वितरण गरिरहेको पनि प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । कम्पनीका अनुसार ग्यालेक्सी फिटनेसले देशरभर शाखा विस्तार गरिरहेको छ । अधिकारीका अनुसार, ग्यालेक्सी फिटनेसको शाखा काठमाडौंको कलंकीमा दशैँपछि सञ्चालनमा आउँदै छ ।

कम्पनीका झापाको दमक, रुपन्देहीको बुटवल र बेलबास, कास्कीको पोखरा र चितवनको नारायणगढमा शाखा सञ्चालनमा छन् । ग्यालेक्सी फिटनेसले अन्य ठाउँमा पनि विस्तारै शाखा विस्तार गर्दै जाने प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ ।