रोनाल्डोको गोलमा अल नासर विजयी

  • Image नेप्लेज
  • २७ आश्विन २०८३, मङ्गलवार
  • 143 पटक हेरिएको
रोनाल्डोको गोलमा अल नासर विजयी

एजेन्सी । एएफसी च्याम्पियन्स लिग इलिट वेस्टअन्तर्गत सोमबार राति भएको खेलमा साउदी क्लब अल नासर विजयी भएको छ।

१० खेलाडीमा सीमित उज्बेकिस्तानको नेफ्टची फार्गोनालाई ३–१ गोलले पराजित गर्दै अल नासरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

अल अवाल पार्कमा भएको खेलमा अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र एन्जेलोले समान एक गोल गरे। टोलीले एक गोल आत्मघाती उपहारका रूपमा पाएको थियो।

फार्गोनाका लागि अलिशेर ओडिलोभले एक गोल फर्काए। खेलको ३३औँ मिनेटमा एन्जेलोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको नौ मिनेटपछि रोनाल्डोले गोल थपेपछि पहिलो हाफमा अल नासर २–० ले अघि रह्यो।

दोस्रो हाफको छैटौँ मिनेट अर्थात् खेलको ५१औँ मिनेटमा ओडिलोभले गोल गर्दै फार्गोनालाई खेलमा फर्काउने प्रयास गरे। तर, ६५औँ मिनेटमा इक्रोम अलिबाएभले रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा सीमित भयो। खेलको ७८औँ मिनेटमा अन्भार गोफुरोभले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि अल नासरले ३–१ को जित सुनिश्चित गर्‍यो।

यस जितसँगै दुई खेलबाट तीन अंक जोडेको अल नासर अंकतालिकाको आठौँ स्थानमा उक्लिएको छ। समान खेलबाट तीन अंक नै रहेको नेफ्टची फार्गोना भने सातौँ स्थानमा छ।