मण्डिखाटार टेनिसमा भ्रातृत्व र खेलभावनाको उत्सव: समीर-भीष्म र ताशी-पासाङको जोडीलाई उपाधि

  • Image नेप्लेज
  • २६ आश्विन २०८३, सोमवार
  • 56 पटक हेरिएको
मण्डिखाटार टेनिसमा भ्रातृत्व र खेलभावनाको उत्सव: समीर-भीष्म र ताशी-पासाङको जोडीलाई उपाधि

काठमाडौं । खेलाडीहरूबिच आपसी भ्रातृत्व, खेलभावना र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित 'इन-हाउस मण्डिखाटार टेनिस क्लब डबल्स टुर्नामेन्ट' उत्साहका साथ सम्पन्न भएको छ।

मण्डिखाटार टेनिस क्लबको आयोजनामा भएको उक्त प्रतिस्पर्धात्मक प्रतियोगिताको मुख्य आकर्षण बनेका समीर गुरुङ र भीष्म जङ्ग गुरुङको जोडीले 'ग्रुप ए' तर्फको उपाधि आफ्नो नाममा दर्ता गराएको छ।

अत्यन्त रोमाञ्चक बनेको 'ग्रुप ए' को फाइनल भिडन्तमा समीर र भीष्मको जोडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्‍यो भने मनोज शम्शेर राणा र हेम चन्द्र गुरुङको जोडी उपविजेतामा सीमित भयो।

यस्तै, 'ग्रुप सी' तर्फको प्रतिस्पर्धामा ताशी शेर्पा र पासाङ शेर्पाको जोडीले सानदार प्रदर्शन गर्दै विजेताको ट्रफी चुमेको छ। यस ग्रुपमा ए.बि. पुन र छिरिङ शेर्पाको जोडीले उपविजेता बन्दै द्वितीय स्थान प्राप्त गर्‍यो।

प्रतियोगिताको समापनसँगै आयोजित विशेष पुरस्कार वितरण समारोहमा मण्डिखाटार टेनिस क्लबका अध्यक्ष नवराज कुँवर तथा अन्य वरिष्ठ अतिथिहरूले विजेता तथा उपविजेता खेलाडीहरूलाई ट्रफी प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

सो अवसरमा अध्यक्ष कुँवरले आन्तरिक प्रतियोगिताले क्लबका सदस्यहरूबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउँदै प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्‍याउने सम्पूर्ण खेलाडी, आयोजक टोली तथा शुभेच्छुकहरूप्रति आभार प्रकट गर्नुभयो।