नेपालका पाँच जनालाई ओसिएको सम्मान

  • Image नेप्लेज
  • २६ आश्विन २०८३, सोमवार
  • 74 पटक हेरिएको
नेपालका पाँच जनालाई ओसिएको सम्मान

काठमाडौं। एसियाको सर्वोच्च खेल संस्था ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले २० औँ एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटीका चार जना र नेपालका एक खेल पत्रकारलाई प्रशंसापत्रसहित सम्मान गरेको छ ।

ओसिएले एनओसीका सचिव रामकृष्ण श्रेष्ठ, सदस्य लाक्पा छिरिङ लामा, कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, आइटी एन्ड कम्युनिकेसन अफिसर आयुश जोशीका साथै गोरखापत्र दैनिकका खेल पत्रकार प्रजित शाक्यलाई एसियाली खेलकुदको पदक र कदरपत्रसहित सम्मान गरेको हो ।

एसियाको सर्वाधिक ठूलो खेल मेला एसियाडको खेल भावना, एकता र सहभागिताका मूल्यमान्यताको प्रवर्धन र प्रचारप्रसार गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो ।

२० औँ एसियाली खेलकुद जापानको आइची नागोया शहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना भएको थियो । आइची नागोया एसियाडमा ४५ देशका खेलाडी र अफिसियल गरी करीब १७ हजारको सहभागिता रहेको थियो ।

नेपालका १३५ खेलाडीले २१ खेलमा सहभागिता जनाएका थिए । २० औँ एसियाडमा नेपालले दुई काश्य पदक हासिल गरेको थियो ।