फिक्कल र कटारीका दुवै टोली यू–१७ टी–वान राष्ट्रिय रग्बीको फाइनलमा

  • Image नेप्लेज
  • २६ आश्विन २०८३, सोमवार
  • 57 पटक हेरिएको
फिक्कल र कटारीका दुवै टोली यू–१७ टी–वान राष्ट्रिय रग्बीको फाइनलमा

सिन्धुली । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा आयोजक फिक्कल गाउँपालिका र कटारी नगरपालिकाका महिला र पुरुष दुवै टोली फाइनलमा प्रवेश गरेका छन्।

सोमबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न पहिलो सेमिफाइनलमा महिला बुढानिलकण्ठ नगरपालिकालाई पराजित गर्दै फिक्कल उपाधि नजिक पुगेको हो। दुवै टिमबाट स्कोर हुन नसकेपछि कम फल गरेको आधारमा फिक्कल फाइनल पुगेको हो।

महिलातर्फकै अर्को सेमिफाइनल खेलमा टोखा नगरपालिकालाई २-१ ले हराउँदै कटारी नगरपालिका फाइनलमा पुगेको हो। अब उपाधिका लागि कटारी र फिक्कल १२ बजे भिड्नेछन्।

यस्तै, पुरुषतर्फको सेमिफाइनलमा गोलबजार नगरपालिकालाई हराउँदै कटारी फाइनलमा प्रवेश गरेको हो। अर्को सेमिफाइनलमा घरेलु टोली फिक्कलले बुढानिलकण्ठलाई ३-१ ले हराउँदै उपाधि नजिक पुगेको हो। अब उपाधिका लागि फिक्कल र कटारी दिउँसो १ बजे खेल्नेछन्।

त्यसअघि तेस्रो स्थानको लागि बुढानिलकण्ठ र गोलबजार खेल्नेछन्। फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा आइतबारदेखि सुरु भएको प्रतियोगिता आजै समापन हुनेछ।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फका विजेताले ३० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

दुवै विधाका उत्कृष्ट खेलाडीलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।