काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ।
सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले चौथो खेलमा आएर दोस्रो जित हात पारेको हो।
पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा भने विराटनगरसँग ३५ रनले पराजित भएको थियो।
चितवनले भने तेस्रो खेलमा आएर पहिलो हार व्यहोरेको हो। पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराएको चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्ससँग वर्षाले खेल प्रभावित हुँदा अंक बाँडेको थियो। चितवनले दिएको १ सय ३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।
सुदूरपश्चिमका लागि ब्राण्डोन म्याक मुलेनले सर्वाधिक ४३ रनको योगदान दिए। उनले २१ बलमा ६ चौका र २ चौका हाने। इशान पाण्डे २५ रनमा एलबीडब्लु धरापमा परे। विनोद भण्डारी ११ र सैफ जैव २ रन बनाउँदै पेभेलियन फर्के। कप्तान दीपेन्द्र सिंह ऐरि गोल्डेन डकआउट भए। आरिफ शेख २० र सेरफाने रदरफोर्ड २१ रनमा अविजित रहे।
चितवनका लागि रन्जित कुमारले ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। उनले आफ्नो स्पेलमा २८ रन खर्चे। रिजन ढकाल र मौसम ढकालले समान १ विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो।
चितवनका लागि रवि वोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। चौथो नम्बरमा ब्याटिङमा आएका उनले ४० बलमा ३ चौका र २ छक्का सहयोगमा ४९ रन बनाउँदा स्कट कुग्लेजिनको बलमा कप्तान दीपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए। डविड मलान १६ रन बनाउँदा दीपेन्द्रको बलमा विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट भए। ओपनर देव खनाल ७ रनमा हेमन्त धामीको बलमा एलबीडब्लु धरापमा परे। अर्जुन साउद १५ रनमा स्कट कुग्लेजिनको बलमा बोल्ड आउट भए। कप्तान सिकन्दर राजा १५ रनमा क्याच आउट नै भए। विवेक यादव १७ रनमा रनआउट भए। सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले २ विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरि र अनिल खरेलले समान एक विकेट आफ्नो नाममा गरे।