लगातार दोस्रो जितसँगै एनआरटी क्वार्टरफाइनलमा

  • Image नेप्लेज
  • ११ कार्तिक २०८३, बुधवार
  • 88 पटक हेरिएको
लगातार दोस्रो जितसँगै एनआरटी क्वार्टरफाइनलमा

काठमाठाैं। लगातार दोस्रो जित हासिल गर्दै न्युरोड टिम (एनआरटी) भेट्रान्सले मध्यपुरमा जारी तेस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

समूह ‘बी’मा प्रतियोगिताको पहिलो दिन मंगलबार थासाङ एफसीमाथि ९–० को जित हासिल गरेको एनआरटीले बुधबार रिभरफिल्ड फुटसलमाथि ६–० को रवाफ जमायो ।

पूर्व राष्ट्रिय खेलाडीहरुले भरिभराउ त्रिपुरेश्वरको टोलीलाई लगातार दोस्रो जित दिलाउने क्रममा बुधबार गणेश लावतीले ह्याट्रिक गरे । अर्का पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपानेले एक गोलमा नाम लेखाउँदा उत्सव केसीले एक गोल गरे । एनआरटीले रिभरफिल्डका अनुज शाक्यबाट एउटा आत्मघाती गोलको उपहार पाएको थियो ।

देशका विभिन्न स्थानका २४ टोलीको सहभागितामा लिगकम नकआउट प्रणालीमा जारी प्रतियोगितामा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता अन्तिम आठ प्रवेश गर्नेछ भने बाँकी दुई टिम बाहिरिनेछन् ।

त्यही नियमअनुसार समूह ‘बी’बाट एनआरटी अगाडि बढ्दा रिभरफिल्ड र थासाङ पहिलो चरणबाटै घर फर्किने पक्का भएको छ । दुई टोलीले सान्त्वना जितको खोजी गर्दै बिहीबार समूहको आफ्नो अन्तिम खेल खेल्नेछन् ।

यसैगरी समूह ‘ए’ मा लगातार दोस्रो खेलमा विजयी नतिजा निकाल्न असफल भएपछि अभिशेक चर्चको यात्रा समाप्त भएको छ । मंगलबार विजय युथसँग गोलरहित बराबरी खेलेको टोली बुधबार जोरपाटी एफसीसँग ४–० को नतिजामा पराजित भएको थियो ।

जोरपाटीको जितमा सुरज थापाले २ गोल गर्दा तिर्थ लामा र सुरज सुवेदीले समान १ गोल गरे । दुई खेलबाट १ अंकमात्र जोड्न सकेको अभिशेक प्रतियोगिताबाट बाहिरिँदा जोरपाटीको भने बुधबारको जितसँगै अगाडि बढ्ने सम्भावना बलियो बनेको छ । टोलीले अब बिहीबार समूहको अन्तिम खेलमा विजय युथसँग बराबरी मात्र गरे पनि क्वार्टरफाइनलको ढोका खोल्नेछ ।

समूह ‘सी’मा चाबहिल युथ क्लबले पहिलो जित हासिल गर्ने क्रममा बुधबार चितवन भेट्रान्समाथि १–० को नतिजा निकालेको छ । टोलीको जितमा अजर श्रेष्ठले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

लगातार दोस्रो हार भोगेपछि चितवनको अगाडि बढ्ने सम्भावना समाप्त भएको छ भने चाबहिल र समूहको अर्को टोली कैलाली भेट्रान्स समान ३ अंक जोड्दै क्वार्टरफाइनल पुग्ने दौडमा छन् । कैलालीले मंगलबार चितवनलाई २–० को नतिजामा हराएको थियो ।

क्वार्टरफाइनल पुग्ने निर्णायक भिडन्तमा बिहीबार कैलाली र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘डी’मा बुधबार विष्णु पादुकासँग गोलरहित बराबरीमा चित्त बुझाएपछि १ अंकमा सीमित भएको कीर्तिपुर भेट्रान्सको पनि क्वार्टरफाइनल पुग्ने सम्भावना कमजोर भएको छ ।

अघिल्लो दिन नेपाली सेनाको त्रिभुवन आर्मी क्वबको टिएएफसी भेट्रान्सले कीर्तिपुरमाथि ४–० को जित हासिल गरेको थियो । अब क्वार्टरफाइनल पुग्ने निर्णायक भिडन्तमा बिहीबार टिएएफसी र विष्णु पादुकाबिच प्रतिस्पर्धा हुनेछ ।

नागार्जुन नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा मध्यपुर नगरपालिका र ललितपुर नगरपालिकाको पनि सहयोग छ । यसैगरी केसी ग्रुप, कार्की ब्याङ्क्वेट, योयो मम, चिन्डिज सेक्युरिटिज, पोन्ट्स स्पोर्ट्स, सनराइज फर्निचर, स्पार्क होम हेल्थ हस्पिटल, ब्लुक्रस हस्पिटल तथा नेपाल–कोरिया मैत्री नगरपालिकाको सहकार्य रहेको आयोजकले जनाएको छ ।

यही कात्तिक २० सम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद १२ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइनेछ ।