मैत्रीपूर्ण टेबलटेनिस शनिबार हुने

  • Image नेप्लेज
  • २२ आश्विन २०८३, बिहिवार
  • 49 पटक हेरिएको
मैत्रीपूर्ण टेबलटेनिस शनिबार हुने

काठमाडौं । होप्स टेबलटेनिस एकेडेमीको आयोजनामा होप्स मैत्रीपूण टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ ।

खेलप्रेमी सुमन खड्गीको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा एक स्पर्धा डबल्समा प्रतिस्पर्धा हुनेछ ।

विजयीदशमीको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा ४० जोडीले प्रतिस्पर्धा गर्ने होप्सका सञ्चालक आईटीटीएफ लेभल २ प्रशिक्षक प्रज्ज्वल श्रेष्ठले जनाएका छन् ।

सहभागीले पुरुष÷पुरुष वा पुरुष÷महिलाको जोडी बनाएर प्रतिस्पर्धा गर्न पाउने छन् । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् ।

टेबलटेनिस परिवारलाई एकै थलोमा भेला गराइ दशैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्नुका साथै हरेक उमेरसमूहका खेलाडीलाई एउटै प्रतियोगितामा संगै खेल्ने अवसर प्रदान गर्न मैत्रीपूर्ण प्रतियोगिता आयोजना गर्न लागिएको मुख्य प्रायोजक सुमन खड्गीले बताए ।

प्रतियोगितामा नौंपटककी राष्ट्रिय च्याम्पियन एवं एसियाली खेलकुदमा लगातार पाँचपटक सहभागिता जनाएकी नविता श्रेष्ठ, राष्ट्रिय च्याम्पियन संयोग कपाली, भेट्रान खेलाडी, उमेरसमूहका खेलाडीले एउटै मञ्चमा प्रतिस्पर्धा गर्ने खड्गीले बताए ।

एकदिने प्रतियोगिताका खेलहरु बालकुमारीस्थित होप्स टेबलटेनिस एकेडेमीमा खेलाइने छ । सोही दिन एकेडेमीको औपचारिक उद्घाटन हुनेछ ।