भुटानमाथि गण्डकीको दोस्रो जित

  • Image नेप्लेज
  • १४ आश्विन २०८३, बुधवार
  • 71 पटक हेरिएको
भुटानमाथि गण्डकीको दोस्रो जित

काठमाडौं । भुटानको राष्ट्रिय टीममाथि गण्डकी ११ ले लगातार दोस्रो जित हासिल गरेको छ ।

आज भएको म्याचमा भुटानलाई गण्डकी ११ ले ६४ रनले हराउँदै दुई म्याचको श्रृंखला क्लीन स्वीप गर्यो ।

भुटानले टस जितेर गण्डकी ११ लाई पहिले ब्याटिङको निम्तो दिएको थियो । एक समय ४५ रनमा ४ विकेट गुमाएको गण्डकीले उत्कृष्ट कमब्‍याक गर्दै ७ विकेट क्षतिमा १९६ रन जोड्न सफल भयो ।

गण्डकीका सिब्रिन श्रेष्ठ, करण पंगेनी र सन्दीप खत्रीले बिष्फोटक ब्याटिङ गर्दै टीमलाई उकासेका थिए । सिब्रिनले २४ बलमा ४५ रन, करणले २७ बलमा ४५ रन र सन्दीपले ९ बलमा ३० रन प्रहार गरे । दीपक डुम्रेले पनि १० बलमा १९ रन हानेर आक्रामकता देखाएका थिए ।

गण्डकीका ओपनर अर्जुन कुमाल आज चलेनन् । उनी ३ बलमा २ रन बनाएर आउट भए । भुटानका थिनले जम्त्सोले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका थिए । सोनाम यासेले २ विकेट लिए ।

जवाफी ब्याटिङमा भुटानका सोनम छोपेलले २१ बलमा ४३ रन बनाए । यस्तै नवौं नम्बरमा आएका टासी दोर्जेले ११ बलमा ३१ रनको केमियो खेले ।

बलिङमा नेपालका कप्तान विपन खत्रीले ४ ओभरमा ४ विकेट तथा दीपक डुम्रेले ३ ओभरमा ३ विकेट लिए ।

भोलि क्यान ११ र भुटानबीच खेल पोखरा रंगशालामा हुँदैछ ।