पर्यटन बोर्डमा थारु महिला सभाले जितिया पर्व मनाउने

  • Image नेप्लेज
  • १४ आश्विन २०८३, बुधवार
  • 73 पटक हेरिएको
पर्यटन बोर्डमा थारु महिला सभाले जितिया पर्व मनाउने

काठमाडौं । थारु जातिको प्रमुख पर्व जितिया यस वर्ष काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा मनाइने भएको छ। थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभाअन्तर्गतको थारु महिला सभाको आयोजनामा जितिया पर्व विशेष कार्यक्रमसहित मनाउन लागिएको हो।

हरेक वर्षझैँ यस वर्ष पनि जितिया पर्व धुमधामका साथ मनाउने तयारी गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारु प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। कार्यक्रम दिउँसो १२ बजेबाट सुरु हुनेछ।

विशेषगरी पूर्वेली थारु तथा मधेसी समुदायका महिलाहरूले मनाउने जितिया पर्वको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ। सन्तानको सुख, समृद्धि, 
दीर्घायु, सुरक्षा तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै महिलाहरूले निराहार व्रत बसेर जितमाहान बाबाको पूजा गर्ने परम्परा छ।

जितिया पर्व माइतीमा गएर मनाउने परम्परा पनि थारु समुदायमा विशेष रूपमा प्रचलित छ। परम्पराअनुसार दाजुभाइले आफ्ना दिदीबहिनीलाई माइतीमा ल्याउने चलन रहेको छ। समयसँगै यो परम्परामा पनि परिवर्तन आएको छ। अहिले दाजुभाइले फोन वा मोबाइल म्यासेजमार्फत दिदीबहिनीलाई माइती बोलाउने गरेका छन्।

माइतीघर पुगेपछि महिलाहरूले ‘ओट्घन’ दर खाने र त्यसपछि पानीसमेत नखाई निराहार व्रत बस्ने परम्परा छ। व्रतका क्रममा जितमाहान बाबाको पूजा–आराधना गरी सन्तानको सुख, स्वास्थ्य, दीर्घायु र परिवारको समृद्धिको कामना गरिन्छ। यसरी जितिया पर्वले थारु समुदायको धार्मिक आस्था मात्र नभई पारिवारिक सम्बन्ध, माइती–चेलीको आत्मीयता र सांस्कृतिक पहिचानलाई समेत जोड्दै आएको छ।