काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रांजणेलाई टोलीमा पुनः अनुबन्ध गरेको छ ।
रांजणेले एनपीएलको दोस्रो संस्करणमा विराटनगर किंग्सबाट प्रभावशाली प्रदर्शन गरेका थिए। उनले चार खेलमा ८७ रन बनाउँदै टोलीको ब्याटिङमा महत्वपूर्ण योगदान दिएका थिए।
उनको ब्याटिङ औसत २९.०० तथा स्ट्राइक रेट १२९.८५ रहेको थियो। प्रतियोगिताका क्रममा उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए। ब्याटिङसँगै बलिङमा समेत योगदान दिएका रांजणेले दोस्रो सिजनमा १० ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए।
विराटनगर किंग्स व्यवस्थापनले रांजणेको अनुभव, बहुआयामिक क्षमता र दबाबको अवस्थामा प्रदर्शन गर्न सक्ने क्षमतालाई टोलीका लागि महत्वपूर्ण पक्षका रूपमा लिएको जनाएको छ। टोली व्यवस्थापनका अनुसार रांजणेले आवश्यकताअनुसार ब्याटिङ र बलिङ दुवैमा भूमिका निर्वाह गर्न सक्ने भएकाले उनको उपस्थितिले टोलीलाई थप मजबुत बनाउनेछ।
टोलीमा पुनः आबद्ध भएपछि रांजणेले पनि खुशी व्यक्त गर्दै आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्। “विराटनगर किंग्ससँग फेरि जोडिन पाउँदा म निकै उत्साहित छु। गत सिजनको अनुभव विशेष थियो र टोलीसँगको सम्बन्ध पनि निकै राम्रो रह्यो। अब सिजन–३ मा अझ राम्रो प्रदर्शन गर्दै टोलीको लक्ष्य पूरा गर्न योगदान दिने मेरो प्रयास हुनेछ,” रांजणेले भने। उनले एनपीएल नेपाली तथा विदेशी खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च बनेको उल्लेख गर्दै विराटनगर किंग्सले आफूमाथि देखाएको विश्वासप्रति आभार व्यक्त गरे।
नेपालमा क्रिकेटप्रतिको बढ्दो क्रेज र समर्थकहरूको उत्साहले आफू प्रभावित भएको पनि उनले बताए। रांजणेले घरेलु, अन्तर्राष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा लामो अनुभव बटुलेका छन्। उनले आफ्नो करियरमा मुम्बई, महाराष्ट्र, गोवा, राजस्थान रोयल्स, सियाटल ओर्कास, टेक्सास सुपर किंग्स, जोबर्ग सुपर किंग्स, शारजाह वारियर्स तथा ढाका क्यापिटल्सलगायत टोलीबाट प्रतिनिधित्व गरिसकेका छन्।
क्रिकेट पृष्ठभूमि भएको परिवारबाट आएका रांजणे भारतका पूर्व क्रिकेटर वसन्त रांजणेका नाति तथा महाराष्ट्र र भारत यू–१९ बाट खेलिसकेका सुभाष रांजणेका छोरा हुन्। ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने क्षमता, अन्तर्राष्ट्रिय अनुभव तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा खेलेको अनुभवका कारण रांजणे एनपीएल सिजन–३ मा विराटनगर किंग्सका महत्वपूर्ण खेलाडीका रूपमा रहने अपेक्षा गरिएको छ।