काठमाडौँ, असोज १३ गते । भारतको खैरा भलिबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा मंगलबार भएको समूह ‘ए’ को पहिलो खेलमा खैरा भलिबल क्लब पन्जाबले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । पाहुना टोली खैराले २६–२४, २५–१८, २२–२५, २५–२० को जित निकालेको हो । अर्को खेलमा विभायीय टोली नेपाल पुलिस क्लबले श्रीलंका पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । नेपाल पुलिसले श्रीलंका पुलिसमाथि २५–२३, २५–२१, २५–२० को जित निकाल्यो । यस्तै समूह ‘बी’ मा रहेको गल्कोट भलिबल क्लब समयमा उपस्थित नभएपछि खेलका लागि अयोग्य ठहरिएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । उनले यस प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्न सहयोग पुग्ने बताइन् । ‘खेलाडीको प्रतिभा, खेलकुदको विकास र देशको प्रतिष्ठालाई माथि उठाउन यस्ता खेलकुद प्रतियोगिता महत्वपूर्ण रहने छ’, भण्डारीले भनिन् ।
उद्घाटन कार्यक्रममा आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले एकेडेमीले खेलकुदलाई प्राथमिकतामा राखेर विद्यालयदेखि अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताए । उनले बुटवलमा आयोजित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताले प्रतिस्पर्धासँगै खेल पर्यटनलाई टेवा पुर्यााएको पनि बताए । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गल्कोट भलिबल क्लब अयोग्य ठहरिएपछि सात टोलीको सहभागिता रहेको छ ।
समूह समूह ‘ए’ मा खैरा क्लब पन्चाब, श्रीलंका पुलिस क्लब, नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब रहेको छ । यस्तै समूह ‘बी’ मा सभापोखरी भलिबल क्लब, भारतको गुजराज स्र्पोटिङ क्लब र नेपाल एपीएफ क्लब रहेको छ । समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल विजेताबीच उपाधि भिडन्त हुनेछ ।
प्रतियोगिताको विजेता टोलीलाई रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ, उपविजेतालाई तीन लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार नगदसहित सम्मान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।