चितवन राइनोजले सुरु गर्‍यो 'गैंडा कप २०२६'

  • Image नेप्लेज
  • ११ आश्विन २०८३, आइतवार
  • 79 पटक हेरिएको
चितवन राइनोजले सुरु गर्‍यो 'गैंडा कप २०२६'

नेपाली क्रिकेटको आधारभूत (ग्रासरुट) तहलाई बलियो बनाउँदै नयाँ प्रतिभा उजागर गर्ने उद्देश्यले नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले ‘गैंडा कप २०२६’ को घोषणा गरेको छ। केवल व्यावसायिक प्रतिस्पर्धामा मात्र सीमित नरहेर तल्लो तहका खेलाडीको भविष्य कोर्न र उनीहरूलाई एक्सपोजर दिलाउन एनपीएल फ्रेन्चाइज आफैं एकेडेमीस्तरको प्रतियोगिता सञ्चालनमा उत्रिएको हो।

हेटौंडास्थित गौरीटार क्रिकेट मैदानमा सेप्टेम्बर ३० देखि अक्टोबर ३ सम्म सञ्चालन हुने ६ दिने यस प्रतियोगितामा बागमती प्रदेशका प्रमुख १२ क्रिकेट एकेडेमीहरूले प्रतिस्पर्धा गर्नेछन्। ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए), क्रिकेट एक्सिलेन्स सेन्टरका तीन वटा शाखा (भक्तपुर, बालुवाटार र बुढानीलकण्ठ), इस्टर्न, हेटौंडा स्पोट्र्स, मास्टर क्लास, एन्जल्स स्पोट्र्स, काठमाडौं, भक्तपुर, भरतपुर क्रिकेट एकेडेमी र चितवन ट्रेनिङ सेन्टर यस ऐतिहासिक प्रतियोगितामा भिड्नेछन्।

चितवन राइनोजका अनुसार यो आयोजना केवल जित र हारको होड मात्र नभई नेपाली क्रिकेटको भावी पुस्ता तयार पार्ने, नयाँ प्रतिभा पहिचान गर्ने र उनीहरूलाई व्यावसायिक यात्रातर्फ मोड्ने क्लबको दूरगामी प्रतिबद्धता हो  । कुल रु. ६,००,००० पुरस्कार राशि रहेको यस प्रतियोगिताको विजेताले रु. २,००,००० र उपविजेताले रु. ५०,००० नगद प्राप्त गर्नेछन्।

यसबाहेक उदीयमान खेलाडीको मनोबल बढाउन व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु. १०,०००, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई जनही रु. ५,००० र प्रत्येक खेलका 'म्यान अफ द म्याच' लाई रु. २,००० प्रदान गरिनेछ। मोफसलमा आयोजना हुन लागेको यस प्रतिस्पर्धाले तल्लो तहका युवा क्रिकेटरहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने बलियो मञ्च प्रदान गर्दै समग्र नेपाली क्रिकेटको जग थप मजबुत बनाउने अपेक्षा गरिएको छ।