काठमाडौं । भ्याली पब्लिक, मार्वलस, संस्कृति इन्टरनेसनल स्कुल र डाफोडिल पब्लिक स्कुल यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भ्याली पब्लिकले मातृभूमिलाई ५७–५४ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा रोशन विकले २१ अंक योगदान गरे । रोशन कुश्वर्नाको १३ अंक सहयोगमा मार्वलसले रेडियन्ट पब्लिकलाई ६०–५५ ले हरायो ।
संस्कृतिले बाल दीक्षा सदनको चुनौती ६२–४५ ले सहजै पन्छायो । संस्कृतिका अभिग्न श्रेष्ठले २७ स्कोर गरे । निसर्ग वाटिका विरुद्धको खेलमा डाफोडिल ५८–५१ ले विजयी भयो । डाफोडिलका काल्साङ तामाङले २३ अंक बटुले ।
नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा सेमिफाइनलमा डाफोडिलको भेट मार्वलससंग हुनेछ । अर्को सेमिफाइनलमा संस्कृतिले भ्याली पब्लिक विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।