मोनालिशालाई उज्वेकिस्तानमा फिडेको सम्मान

  • Image नेप्लेज
  • ७ आश्विन २०८३, बुधवार
  • 46 पटक हेरिएको
मोनालिशालाई उज्वेकिस्तानमा फिडेको सम्मान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बू अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) बाट उज्वेकिस्तानस्थित समरकन्डमा सम्मानित भएकी छन् ।

विश्वव्यापी रुपमा महिला चेसको प्रवद्र्धनमा गरिएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको फिडेले जनाएको छ ।

हिमालयन चेस एकेडेमीकी संस्थापक समेत रहेकी खम्बूलाई समरकन्डमा भइरहेको ४६ औं चेस ओलम्पियाड २०२६ र फिडे कंग्रेस २०२६ को अवसरमा मंगलबार सम्मान गरिएको हो ।

फिडे कमिसन फर वुमेन्स चेसकी सदस्यसमेत रहेकी उनले बंगलादेशमा रहेका रोहिंग्य शरणार्थी बालबालिका र प्रशिक्षकलाई प्रशिक्षण दिनुकासाथ स्वदेशमै अटिजम भएका बालबालिका, सामुदायिक विद्यालय, महिलाका लागि विशेष चेस ट्रेनिङ दिइरहेकी छन् ।

नेपाल बुद्धिचाल महासंघमा चार वर्षअघि उपमहासचिव निर्वाचित भएकी खम्बू अर्थशास्त्र र लैंगिक समानतामा स्नातकोत्तर गरेपछि महिला सशक्तिकरणमा पनि कार्यरत छिन् ।

उनी नेपालको पहिलो महिला राष्ट्रिय चेस च्याम्पियन, पहिलो महिला इन्टरनेसनल आर्बिटर (आईए) हुन् । उनले एसियन गेम्समा दुईपल्ट, इन्डोर एसियन गेम्समा तीनपल्ट, चेस ओलम्पियाडमा तीनपल्ट देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी थिइन् ।

उनले १६ वर्षअघि बनाएको १८७७ फिडे रेटिङको रेकर्ड कायमै छ । एक दशकयता व्यवस्थापनमा सक्रिय उनले फिडे इन्स्ट्रक्टर (एफआई) र वुमेन्स क्यान्डिडेट मास्टर (डब्लुसीएम) टाइटल पनि लिएकी छन् ।

समरकन्डमा भइरहेको ४६ औं चेस ओलम्पियाड २०२६ मा नेपालको पुरुष र महिला टिमले प्रतिस्पर्धा गरिरहेको छ । फिडेले यसै कंग्रेसमार्फत नयाँ नेतृत्व पनि चयन गर्दैछ ।