काठमाडौं । जापानमा भइरहेको २०औँ एशियाली खेलकुदअन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेइसँग पराजित भएको छ ।
जापानमा आज भएको खेलमा नेपालले पहिलो हाफमा १३–१३ को बराबरी खेलेको थियो तर दोस्रो हाफमा नेपालले राम्रो अंक ल्याउन नसकेपछि समग्रमा ३७–१८ अंकले पराजित भयो ।
नेपालले हिजो समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई हराउँदै विजयी शुरुआत गरेको थियो ।
नेपाल रहेको समूहमा चाइनिज ताइपेइ, श्रीलंका र थाइल्यान्ड छन् ।
अर्को समूहमा इरान, भारत, बङ्गलादेश र जापान छन् ।
नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ ।
सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा कास्यपदक जितेको थियो ।
साथै, जापानमा जारी २०औँ एशियाली खेलकुदको पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ ।
हालसम्म चीनले ४७ स्वर्ण, २० रजत र १० कांस्यसहित ७७ पदक जितेको छ । आयोजक जापान १५ स्वर्ण, २४ रजत र २७ कांस्यसहित ६६ पदकका साथ दोस्रो स्थानमा छ ।
दक्षिण कोरिया ८ स्वर्ण, ८ रजत र २४ कांस्य गरी ४० पदकसहित तेस्रो स्थानमा छ ।
४५ देश सहभागी यस प्रतियोगितामा अहिलेसम्म नेपालसहित ३६ देशले कम्तीमा एक पदक जितेका छन् ।