काठमाडौं । एसियाली खेलकुदमा नेपाली मुक्केबाज खगेन्द्र रोकामगर दोस्रो चरण (अन्तिम–१६) मा प्रवेश गरेका छन् ।
बुधबार निशियो जिम्नेसियममा सम्पन्न ६० केजीको स्पर्धामा खगेन्द्रले पहिलो चरण (अन्तिम–३२) मा मकाओका अल्भिन जोन रेयेसलाई अंकका आधारमा ५–० ले पराजित गरे ।
तीनवटै राउन्डमा सबै निर्णायकले खगेन्द्रको पक्षमा फैसला गरेका थिए । अब दोस्रो चरणमा खगेन्द्रले फिलिपिन्सका जुनमिलार्डो ओगायरेको सामना गर्नेछन् ।
एसियाली खेलकुदमा नेपाली मुक्केबाजले पहिलो जित दर्ता गरेका हुन् । यसअघि पुरुष ७० केजीमा दानबहादुर दर्लामी इराकका अली कासिम हमदान अल–सर्रे, ५५ केजीमा चन्द्रबहादुर थापामगर भारतका मन्देगबाम जादुमणि सिंह तथा महिला ५१ केजीमा रमिशा श्रेष्ठ भियतनामी एनगुएन थी टामसँग पराजित भएका थिए ।
अब खगेन्द्रसँगै रवीन नेपाल (९० केजी), अस्मिता दुवाल (५४ केजी) र कुसुम तामाङ (६५ केजी) ले प्रतिस्पर्धा गर्न बाँकी छ ।