काठमाडौं । पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ फाइभ-ए-साइड महिला फुटसल प्रतियोगिता आज असोज ३ गतेदेखि सुरु भएको छ।
दुई दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल प्याब्सन काठमाडौँका अध्यक्ष नवराज भट्ट तथा पेसएक्स स्पोर्ट्स एकेडेमीका संस्थापक एवम् अध्यक्ष संगीता कर्णले रेफ्रीलाई बल हस्तान्तरण गर्दै संयुक्त रूपमा खेलको उद्घाटन भएको थियो।
काठमाडौं उपत्यकाभित्रका १५ वटा महिला टिमहरू सहभागी रहेको यस प्रतियोगिताको पहिलो दिन आज लिग चरणका खेलहरू सम्पन्न भएका छन्। भोलि क्वार्टरफाइनल, सेमिफाइनल तथा फाइनल खेलहरू हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता बन्ने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीय हुनेले २५ हजार ५ सय ५५ रुपैयाँ र तृतीय हुने टिमले १५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसका साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर तथा फेयर प्ले टिमलाई ट्रफीसहित जनही ३ हजार १ सय रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवराज भट्टले यस्ता खेलकुद प्रतियोगिताले महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने बताए।
संस्थाका अध्यक्ष संगीता कर्णले महिला खेलकुदको विकास र प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि अन्य खेल विधाहरूमा यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिइने जानकारी दिईन।
यसअघि पेसएक्स स्पोर्ट्सले कपनमा पुरुषहरूको खुला सेभेन-ए-साइड फुटसल प्रतियोगिता समेत सफलतापूर्वक सम्पन्न गरिसकेको छ। भोलि हुने फाइनल खेल तथा समापन समारोहमा ललितपुर महानगरपालिकाका उपप्रमुखको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गर्ने कार्यक्रम तय गरिएको छ। आयोजकले सम्पूर्ण फुटबल तथा खेलप्रेमी दर्शकहरूलाई खेल मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिन आग्रह गरेको छ।