आईपीएल जिताएका विराट कोहली अफगानिस्तान सिरिजबाट बाहिर

  • Image एजेन्सी
  • २३ जेठ २०८३, शनिवार
  • 2630 पटक हेरिएको
आईपीएल जिताएका विराट कोहली अफगानिस्तान सिरिजबाट बाहिर

रोयल च्यालेन्जर्स बेंगलोर आरसीबीलाई लगातार दोस्रो पटक आईपीएलको उपाधि दिलाउने क्रममा घाइते भएका स्टार ब्याटर विराट कोहली अफगानिस्तान विरुद्धको आगामी तीन खेलको एकदिवसीय शृङ्खलाबाट बाहिरिएका छन् । गत साता आईपीएल २०२६ को फाइनलका क्रममा उनको ह्यामस्ट्रिङमा चोट लागेको थियो । शनिबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा भारतीय क्रिकेट बोर्डका मुख्य छनोटकर्ता अजित अगरकरले कोहली टोलीमा नरहेको पुष्टि गर्दै उनको स्थानमा युवा ओपनर यशस्वी जयसवाललाई टोलीमा समावेश गरिएको जानकारी दिएका छन् । टेस्ट र ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका कोहली हाल एकदिवसीय संरचना मात्र खेल्ने गर्छन् । उनी आगामी जुलाई १४ देखि इंग्ल्याण्ड विरुद्ध सुरु हुने एकदिवसीय शृङ्खलासम्म फिट हुन सक्ने अनुमान गरिएको छ ।

हालै सम्पन्न आईपीएलमा १६५.८४ को उत्कृष्ट स्ट्राइक रेटमा ६७५ रन बनाएका कोहलीको अनुपस्थिति भारतीय टोलीका लागि ठूलो धक्का भए पनि उनको स्थान लिएका जयसवाल लयमा छन् ।

सन् २०२५ फेब्रुअरीमा डेब्यु गरेर हालसम्म ४ एकदिवसीय खेल खेलिसकेका जयसवालले आफ्नो पछिल्लो एकदिवसीय खेलमा दक्षिण अफ्रिका विरुद्ध अविजित ११६ रनको शतकीय इनिङ्स खेलेका थिए । त्यस्तै, सन् २०२५ को च्याम्पियन्स ट्रफीयता एकदिवसीय खेल नखेलेका अलराउन्डर हार्दिक पाण्ड्या र चोटका कारण आईपीएलका ६ खेल गुमाएका रोहित शर्मा दुवै टोलीमा फर्किएका छन् । मुख्य छनोटकर्ता अगरकरका अनुसार सन् २०२७ को एकदिवसीय विश्वकपलाई मध्यनजर गर्दै हार्दिकलाई फिट राख्नु र ओडीआई संरचनामा निरन्तरता दिनु टोलीको मुख्य प्राथमिकता रहेको छ ।

भारत र अफगानिस्तान बीचको तीन खेलको एकदिवसीय शृङ्खला जुन १३ मा धर्मशालामा हुने पहिलो खेलबाट सुरु हुनेछ । त्यसपछिका खेलहरू जुन १७ मा लखनऊ र जुन २० मा चेन्नईमा खेलाइने तालिका रहेको छ ।

अफगानिस्तान विरुद्धको भारतीय टोली:

शुभमन गिल (कप्तान), रोहित शर्मा, यशस्वी जयसवाल, श्रेयस अय्यर (उपकप्तान), केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या, नितिश कुमार रेड्डी, वासिङ्टन सुन्दर, कुलदीप यादव, अर्शदीप सिंह, प्रसिद्ध कृष्णा, प्रिन्स यादव, गुर्नर ब्रार, हर्ष दुबे।

 

सम्बन्धित खबर