काठमाडौं । ज्ञानोदय बाल वाटिकाले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो सफलता पाएको छ । ज्ञानोदय सिनियर ब्वाइज र गल्र्स दुवैमा विजयी भयो । स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा ज्ञानोदयले होली भिजनलाई ३५–२९ ले पराजित गर्यो । ज्ञानोदयको जितमा साइमन क्षेत्रीले १३ अंक योगदान गरे । प्रिन्सेस थापा मगरको ७ अंक सहयोगमा ज्ञानोदयले केभीएस, रानीवनलाई ११–९ ले हरायो ।
सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा निसर्ग वाटिकाले मोक्षदालाई ४६–२८, केभीएस, रानीवनले कश्यपलाई ३८–१८ र राइजिङ स्टारले विस्डमलाई ४३–१८ ले पाखा लगाए । निसर्गका अर्नव सिंहले १४, केभीएस, रानीवनका जिग्मे लामाले १० र राइजिङ स्टारका रेजन थापाले २३ स्कोर गरे । सिनियर गल्र्समा निसर्ग वाटिकाले केभीएस, स्युचाटारलाई ३४–४ ले पराजित गरेयो । निसर्गकी आश्रा भण्डारीले १८ अंक जोडिन् ।
जुनियर ब्वाइजमा केभीएस, स्युचाटारले ओएसिस्लाई १९–८ तथा ह्वाइटफिल्डले कश्यपलाई १६–६ ले पाखा लगाए । केभीएसका राजीव अधिकारीले १० तथा ह्वाइटफिल्डका मसिक तामाङले ४ स्कोर गरे ।