अस्ट्रेलियन ओपनको वाइल्डकार्ड प्लेअफ खेल्न टेनिस खेलाडी अभिषेक बस्तोला चीन प्रस्थान

  • Image नेप्लेज
  • ६ मंसिर २०८३, आइतवार
  • 50 पटक हेरिएको
अस्ट्रेलियन ओपनको वाइल्डकार्ड प्लेअफ खेल्न टेनिस खेलाडी अभिषेक बस्तोला चीन प्रस्थान

काठमाडौँ । पोखराका टेनिस खेलाडी अभिषेक बस्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफ खेल्न चीनको छेङ्दु पुगेका छन् । यो प्रतियोगिताको छनोट चरणमा वाइल्डकार्ड पाउने उनी पहिलो नेपाली खेलाडी हुन् । नोभेम्बर २३ देखि २८ सम्म छेङ्दुस्थित सिचुआन इन्टरनेसनल टेनिस सेन्टरमा हुने प्रतियोगितामा उनले पुरुष एकलतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

छनोट चरणमा आठ खेलाडी छन् । तीमध्ये चार जनाले वरीयताका आधारमा स्थान पाएका हुन् भने बस्तोलासहित चार जनाले वाइल्डकार्ड पाएका छन् । छनोटबाट चार खेलाडी १६ जना सम्मिलित मुख्य प्लेअफमा पुग्नेछन् । त्यसको विजेताले आगामी जनवरीमा अस्ट्रेलियाको मेलबर्नमा हुने अस्ट्रेलियन ओपनको पुरुष एकल मुख्य ड्रमा स्थान पाउनेछ । बस्तोलाका लागि यो पहिलो पटक ग्रान्डस्लामको मुख्य प्रतिस्पर्धामा पुग्ने अवसर हो ।

पोखराको कोर्टबाट अन्तर्राष्ट्रिय प्रतियोगितासम्म
बस्तोलाको टेनिस यात्रा पोखरामा बुबासँग कोर्ट जाँदा सुरु भएको हो । उनका बुबा अनुजकुमार र आमा पद्मा दुवै ब्याडमिन्टनका पूर्वराष्ट्रिय खेलाडी हुन् । आठ वर्षको उमेरमा टेनिस खेल्न थालेका अभिषेकलाई क्रिकेटमा पनि रुचि थियो । टेनिसमा प्रत्येक अंकका लागि विपक्षीको चाल बुझ्नुपर्ने र लामो समय एकाग्र रहनुपर्ने चुनौती उनलाई मन पर्‍यो । बुबाले घरको ग्यारेजमै अभ्यास गर्ने व्यवस्था मिलाइदिए । किशोरावस्थामै उनी घरेलु प्रतियोगितामा चिनिन थाले ।

सन् २०१२ मा कक्षा ९ पढ्दै गर्दा उनी प्रशिक्षण र छात्रवृत्तिको अवसर खोज्दै थाइल्यान्ड पुगे । त्यहाँ दैनिक चारदेखि पाँच घण्टा अभ्यास गरेका बस्तोलाले १६ वर्षमुनिको प्रतियोगितामा फाइनलसम्म पुगेर एकेडेमीको छात्रवृत्ति पाए । कक्षा ९ र १० को पढाइ थाइल्यान्डमै पूरा गरेपछि उनी नेपाल फर्किए । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) का जुनियर प्रतियोगिता खेल्दै उनी विश्व जुनियर वरीयतामा करिब ७७०औँ स्थानसम्म पुगे ।

सन् २०१३ मा चीनको नान्जिङमा आयोजित एसियाली युवा खेलकुदमा टेनिसतर्फ नेपालको प्रतिनिधित्व गर्ने उनी पहिलो पुरुष खेलाडी बने । त्यसको एक वर्षपछि दक्षिण कोरियाको इन्चोनमा पहिलो एसियाली खेलकुद खेले । त्यसयता जकार्ता–पालेम्बाङ (२०१८), हाङझाउ (२०२३) र आइची–नागोया (२०२६) मा खेलेका बस्तोला चार संस्करणका एसियाली खेलकुदमा सहभागी हुने पहिलो नेपाली टेनिस खेलाडी हुन् । पछिल्लो संस्करणमा उनले प्रदीप खड्कासँग मिलेर पुरुष युगलको पहिलो खेल जितेका थिए ।

सन् २०१६ मा अमेरिकाको मियामीस्थित एएसए कलेजबाट उनको कलेज टेनिस यात्रा सुरु भयो । सन् २०१७ मा एसोसिएट डिग्री पूरा गरेपछि उनी युनिभर्सिटी अफ टेक्सास एट आर्लिङ्टनमा आबद्ध भए । त्यहाँ अमेरिकी विश्वविद्यालय खेलकुदको उच्च तह एनसीएए डिभिजन–१ मा टेनिस खेल्ने पहिलो नेपाली बने । सन् २०१८ मा छात्रवृत्तिमा क्यालिफोर्नियाको सेन्ट मेरिज कलेज पुगेका उनले त्यही वर्ष एगी इन्भिटेसनलको एकल उपाधि जिते । सन् २०२० मा उनले व्यवसाय प्रशासनमा स्नातक पूरा गरे ।

सन् २०२३ मा बस्तोला आईटीएफको विश्व वरीयतामा प्रवेश गर्ने पहिलो नेपाली पुरुष खेलाडी बने । हाल उक्त वरीयतामा रहेका उनी एकमात्र नेपाली पुरुष खेलाडी हुन् । त्यही वर्ष नेपालले बहराइनमा पहिलो पटक डेभिस कप खेल्दा अक्टोबर २५ मा उनले कतारका तत्कालीन शीर्ष खेलाडी मुबारक शन्नान जायिद अल–हर्रासीलाई हराए । अस्वस्थ हुँदाहुँदै उनले निकालेको त्यो जित डेभिस कपमा नेपालको पहिलो थियो । अल–हर्रासी सन् २०१६ मा एटीपी एकल वरीयताको १,१५९औँ स्थानसम्म पुगेका थिए ।

बस्तोलाले त्यसपछि यमन र माल्दिभ्सविरुद्ध पनि एकल खेल जिते । सन् २०२३ र २०२४ का दुई संस्करणमा खेलेका सबै छ एकल खेल जितेका उनले युगलतर्फ दुई खेलमा एक जित निकाले । डेभिस कपमा नेपाली खेलाडीले हासिल गरेको सर्वाधिक सात जितको कीर्तिमान उनकै नाममा छ । आईटीएफले उनको पहिलो जित र कीर्तिमान दुवैको लिखित पुष्टि गरेको छ । सन् २०२४ मा नेपाल समूह पाँचबाट चारमा उक्लियो । बस्तोला टोलीमा नरहेको सन् २०२५ को संस्करणमा नेपाल फेरि समूह पाँचमा झर्‍यो । सन् २०२३ मा नेपालसँगै समूह पाँचमा खेलेको कतार भने सन् २०२६ मा समूह तीनमा पुग्यो ।

व्यावसायिक टेनिसमा यूटीआर प्रो टेनिस टुर खेल्ने एकमात्र नेपाली बस्तोलाले उक्त टुरमा जित पनि दर्ता गरेका छन् । सन् २०२४ मा अमेरिकाको इन्डियन वेल्समा आयोजित बीएनपी पारिबास ओपनमा आधिकारिक अभ्यास सहयोगी बन्ने उनी पहिलो नेपाली थिए । सन् २०२५ मा त्यही प्रतियोगितामा उनले नोभाक जोकोभिचसँग अभ्यास गरे र कार्लोस अल्काराजलाई भेटे । सेप्टेम्बर २०२६ मा भियतनाममा एटीपी च्यालेन्जर टुरको छनोट चरण खेल्ने पहिलो नेपाली पनि उनै बने ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यात्रा, बसोबास र खेल सामग्रीको खर्च अधिकांश समय परिवारको सहयोगमा आफैँ जुटाउनुपरेको बस्तोलाले यसअघिका अन्तर्वार्तामा बताएका छन् । उनले राज्य र खेल संघबाट पाएको सहयोग तथा राष्ट्रिय टोली छनोटका केही प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल टेनिस संघले भने नियमअनुसार छनोट गर्ने र उपलब्ध स्रोतबाट खेलाडीलाई सहयोग गर्दै आएको बताएको छ ।

नेपालमै नियमित प्रतियोगिता र उच्चस्तरीय प्रशिक्षण उपलब्ध होस् भन्ने बस्तोलाको चाहना छ । अहिले उनको ध्यान छेङ्दुको छनोट खेलमा छ । त्यहाँबाट मुख्य प्लेअफमा पुगेर उपाधि जिते पोखरामा आठ वर्षको उमेरमा र्‍याकेट समातेका बस्तोला आगामी जनवरीमा मेलबर्नको ग्रान्डस्लाम कोर्टमा उत्रिनेछन् ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment