काठमाडौं । धनगढी फुटबल क्लब (धनगढी एफसी) र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिबीच सहकार्य भएको छ। दुवै संस्थाको साझेदारीमा फुटबल, क्रिकेटसहित अन्य खेलकुद गतिविधि अघि बढाउन सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स कम्पनी स्थापना गरिएको छ।
नयाँ कम्पनीमा धनगढी एफसीका सञ्चालक सुवास शाही र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको समान लगानी रहनेछ। सम्झौताअनुसार डा. उपेन्द्र महतो कम्पनीको अध्यक्ष, सुवास शाही सञ्चालक र अनुभव स्वाँर सिरोहिया कार्यकारी निर्देशक रहनेछन्।
कम्पनीको बोर्डमा थप सदस्यसमेत नियुक्त गरिने जनाइएको छ। नयाँ संरचनाअन्तर्गत धनगढी एफसीले हालै घोषणा भएको नेपाल फुटबल लिग (एनएफएल) खेल्नेछ। साथै, ग्रासरुट र महिला फुटबलको विकासमा समेत लगानी गर्ने योजना रहेको छ। धनगढी एफसीको स्थापना भएको ६ वर्ष भइसकेको छ।
गो ड्रिमर्सको स्वामित्वमा रहेको क्लबले नेपाल सुपर लिग (एनएसएल) का पहिलो दुई संस्करणमा फाइनल खेलेको थियो भने तेस्रो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको थियो। क्लबले सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै फुटबलसँगै विभिन्न सामाजिक गतिविधिमा पनि सहभागिता जनाउँदै आएको छ।
काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको टोली काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्दै आएको छ। नयाँ साझेदारीसँगै कम्पनीले क्रिकेटमा गरेको लगानीलाई अन्य खेलकुदमा समेत विस्तार गर्ने लक्ष्य राखेको छ। सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्सका सञ्चालक शाहीले नेपाली फुटबलमा निजी क्षेत्रको लगानी भित्रिनु सकारात्मक सन्देश भएको बताए।
'अहिलेको अवस्थामा लगानी भित्रिनुले नेपाली फुटबलमा ठूलो सन्देश जानेछ। व्यक्तिगत रूपमा मैले यसलाई निकै सकारात्मक रूपमा लिएको छु। काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सलाई धनगढी एफसीमा स्वागत गर्न चाहन्छु। यसले नेपाली फुटबलमा केही गर्न सकिन्छ भन्ने देखाएको छ,’ उनले भने। उनले यस्तो साझेदारीले अन्य क्लबका लागि पनि लगानीको ढोका खोल्ने विश्वास व्यक्त गरे। साथै, यसले सुदूरपश्चिमको पर्यटनलगायत अन्य क्षेत्रको विकासमा पनि योगदान पुर्याउने उनको भनाइ छ।
कम्पनीका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले क्रिकेटमा गर्दै आएको लगानीलाई अन्य खेलमा विस्तार गर्ने उद्देश्यले धनगढी एफसीसँग सहकार्य गरिएको बताए। उनले भने, ‘काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्समार्फत हामीले क्रिकेटमा ठूलो लगानी गर्दै आएका छौं। त्यसलाई अन्य खेलकुदमा विस्तार गर्ने उद्देश्यले धनगढी एफसीसँग जोडिएर सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स स्थापना गरेका हौं। नेपालको लोकप्रिय खेल फुटबलसँग आबद्ध हुनु हाम्रा लागि ठूलो अर्थ राख्छ। नेपाली फुटबललाई अझ लोकप्रिय बनाउने उद्देश्यका साथ हामी आएका छौं।´