एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने

  • Image नेप्लेज
  • ८ कार्तिक २०८३, आइतवार
  • 96 पटक हेरिएको
एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

उनले एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताए।

विगतमा सिमित स्रोतसाधन र न्युन पारिश्रमिकका बाबजुद खेलाडीहरूले देशका लागि खेल्दै आएको स्मरण गर्दै उहाँले पछिल्लो समय खेलाडीलाई विभिन्न प्रतियोगिता र प्रायोजनमार्फत आर्थिक रूपमा सबल बनाउने प्रयास भइरहेको बताए।

अध्यक्ष चन्दले सरकारले पनि एशियाली प्रतियोगितामा च्याम्पियन, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार दिने व्यवस्था गर्दै आएको भएपनि पछिल्लो समय केही कारणले खेलाडीले पुरस्कार पाउन नसकेको बताए।

उनले क्रिकेटलाई प्राथमिकतामा राखेर पुरस्कारसम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँकाअनुसार नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरिरहेको छ । नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता थप चार वर्षका लागि कायम राखेको र दोस्रोपटक एशिया कपमा छनोट भएको उल्लेख गर्दै उनले एकदिवसीय विश्वकप खेल्ने लक्ष्य हासिल गर्न खेलाडीहरू प्रयासरत रहेको बताए।

चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेटलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै नेपालमै प्लेअफ क्वालिफायर आयोजना गर्ने अवसर पाउनु विश्वकपसम्म पुग्ने यात्राको एउटा महत्वपूर्ण कडी भएको बताए । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबारे बोल्दै उहाँले प्रतियोगिता हरेक वर्ष थप व्यवस्थित र आकर्षक बन्दै गएको बताए ।

गभर्निङ काउन्सिल, क्यानका पदाधिकारी, जिल्ला तथा प्रदेश क्रिकेट संघ, सञ्चारमाध्यम, प्रायोजक र आठवटै फ्रेन्चाइज टोलीका मालिकहरूको योगदानले एनपीएल नेपाली क्रिकेटको ब्रान्डका रूपमा स्थापित हुँदै गएको उहाँको भनाइ छ ।

उनले एनपीएलमा उत्कृष्ट खेलाडीहरूको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लगायतका प्रविधिको प्रयोग र आर्थिक कारोबारको विस्तारले प्रतियोगिताको स्तर बढाएको बताउनु भयो ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ #क्यान